माैसम पूर्वानुमान

देशभर वर्षाको सम्भावना, केही क्षेत्रमा भारी वर्षा र हिमपात हुनसक्ने

४ हप्ता अगाडि
देशभर वर्षाको सम्भावना, केही क्षेत्रमा भारी वर्षा र हिमपात हुनसक्ने

काठमाडौं । देशका विभिन्न भागमा आज वर्षाको सम्भावना रहेको छ । हल्कादेखि मध्यम वर्षा हुने अनुमान गरिएको छ । काठमाडौं उपत्यकामा बिहानैदेखि वर्षा भइरहेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोसी प्रदेशसहित देशका हिमाली तथा पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ भने तराई क्षेत्रमा आंशिक बदली रहनेछ ।

कोसी, वाग्मती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा तथा बाँकी पहाडी र हिमाली क्षेत्रका थोरै स्थानमा मध्यमसम्म वर्षा र हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।

तराईका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने अनुमान गरिएको छ ।

राति कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशसहित देशका हिमाली तथा पहाडी भूभागमा सामान्यदेखि पूर्ण बदली रहनेछ भने बाँकी क्षेत्रमा आंशिक बदली रहनेछ ।

कोसी, मधेस र वाग्मती प्रदेशका केही स्थानमा तथा अन्य पहाडी र हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ । कोसी र वाग्मती प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातसमेत हुन सक्ने विभागले जनाएको छ ।

तराईका केही स्थानमा पनि मेघगर्जन र चट्याङसहित वर्षा हुने सम्भावना रहेको छ ।

मौसमविद् विनोद पोखरेलका अनुसार आज रातिदेखि देशभर वर्षा हुने सम्भावना उच्च रहेको छ । उनका अनुसार वर्षा छोटो अवधिको भए पनि केही स्थानमा भारी वर्षा हुन सक्छ ।

हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली, स्थानीय वायु तथा तल्लो वायुमण्डलमा रहेको न्यूनचापीय क्षेत्रको आंशिक प्रभाव कायम रहेको विभागले जनाएको छ ।