काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल विश्वकप लिग-२ अन्तर्गत सातौँ शृंखलाको पहिलो खेलमा नेपालले मंगलबार स्कटल्यान्डको सामना गर्दैछ ।
खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा बिहान ९ः३० बजे सुरु हुनेछ । नेपालले गत साता यही मैदानमा ओमान र यूएईविरुद्धको शृंखला खेलेको थियो ।
अघिल्लो शृंखलामा तीन जित निकालेको नेपाल उच्च मनोबलका साथ मैदान उत्रिने तयारीमा छ । नेपाली टोलीका अलराउन्डर गुल्सन झाले ओमानसँगको अन्तिम खेलपछि घरेलु मैदानको फाइदा उठाउँदै बढीभन्दा बढी खेल जित्ने लक्ष्य रहेको बताएका थिए ।
नेपाल हाल २४ खेलबाट १८ अंकसहित तालिकाको सातौँ स्थानमा छ । अमेरिका ३६ अंकसहित शीर्षस्थानमा रहँदा स्कटल्यान्ड ३४ अंकसहित दोस्रो स्थानमा छ । नेपालले अब १२ खेल खेल्न बाँकी रहेकाले घरेलु मैदानका चार खेललाई निर्णायक रूपमा हेरिएको छ ।
नेपालले स्कटल्यान्डलाई हराउँदै शीर्ष चारको सम्भावना बलियो बनाउने लक्ष्य राखेको छ । यता स्कटल्यान्ड पनि जित निकाल्दै शीर्षस्थानमा उक्लिने योजनामा छ ।
नेपाल रोहितकुमार पौडेलको कप्तानीमा मैदान उत्रिनेछ भने स्कटल्यान्डको नेतृत्व रिची बेरिङ्टनले गर्नेछन् ।
नेपालका प्रशिक्षक स्टुअर्ट लले ओमान र यूएईविरुद्धको टोलीमा एक परिवर्तन गरेका छन् । यस शृंखलाका लागि इशान पाण्डे टोलीमा फर्किएका छन् भने बसिर अहमद बाहिरिएका छन् ।
हेड टु हेड
नेपाल र स्कटल्यान्डबीच हालसम्म १० एकदिवसीय अन्तर्राष्ट्रिय खेल भएका छन् । तीमध्ये नेपालले पाँच खेल जितेको छ भने स्कटल्यान्डले चार खेल आफ्नो पक्षमा पारेको छ । एक खेल नतिजाविहीन बनेको थियो ।
त्रिवि क्रिकेट मैदानमा भने नेपाल स्कटल्यान्डमाथि हाबी देखिएको छ । यस मैदानमा भएका दुवै खेलमा नेपाल विजयी भएको थियो । गत वर्ष स्कटल्यान्डको डुन्डीमा सम्पन्न शृंखलामा दुवै टोलीले समान एक–एक जित निकालेका थिए ।