रास्वपा र उज्यालो पार्टीबीचको एकता भंग, कुलमान घिसिङ अध्यक्ष

३ महिना अगाडि
रास्वपा र उज्यालो पार्टीबीचको एकता भंग, कुलमान घिसिङ अध्यक्ष

काठमाडौं । उज्यालो पार्टी नेपालले पार्टीको अध्यक्षमा कुलमान घिसिङलाई नियुक्त गर्ने निर्णय गरेको छ । 
शनिवार पार्टी केन्द्रिय कार्यालय थापाथलीमा आयोजित पत्रकार सम्मेलनमा यसबारे जानकारी गराइएको हो ।

यसअघि पार्टीको अध्यक्ष अनुप उपाध्याय थिए । उनले व्यक्तिगत कारण देखाउँदै राजीनामा दिएपछि केन्द्रीय कमिटीको बैठकले उनको राजीनामा स्वीकृति गर्दै चिम चुनाव चिन्ह लिएर निर्वाचनमा भाग लिने पार्टीले निर्णय गरेको छ ।

पत्रकार सम्मेलनमा बोल्दै पार्टीका अध्यक्ष कुलमान घिसिङले नयाँ भन्ने शक्ति एक हुनुपर्छ भन्ने ध्येयले सम्पूर्ण कुरा त्यागेर एकताको सहमति गरे पनि रास्वपासँगको सहमति टिकाउन नसकिएको बताए । पुस १४ गते भएको उक्त सहमति १२ दिनमै सकिएको उनले जानकारी दिदै, धेरै पटकको छलफलमा सहमति कार्यान्वयनमा आफू लागेको भएपनि छलफलहरु हिनतावोधका साथ अघि बढ्नुपरेको बताए । अलिखित सहमति धेरै रहेको र त्यो सहमतिमा कुनै ठूलो माग नभए पनि कार्यान्वयन गर्न आफूहरु लागेको र सफल नभएको जिकिर गरे ।

उनले भने, ‘हाम्रा साथीहरुले कुनै ठूलो डिमाण्ड राखेको थिएन । पदको ठूलो बार्गेनिङ गरियो भनेर सञ्चारमाध्यममा आएको छ, त्यो कुरा गलत हो । म आफैँ एउटा उपाध्यक्ष तर वरियता क्रममा धेरै तल भएर पनि सहेर गएको थिएँ । मैले साधारण सदस्य भएर बस्छु, हाम्रा साथीहरु केन्द्रीय सदस्यहरुलाई केही हेर्नुपर्छ भनेको थिएँ । ठूलो विषय थिएन । मुख्य मुद्दाका विषयहरु समावेशिता, संघीयतालाई समेट्न पूरक सम्झौता गरौँ भनेको थिएँ, तर पूरक सम्झौता हुन सकेन । हाम्रा साथीहरुले उठाएका विषयहरुमा सहज रुपमा तलसम्म चुनावी प्रक्रियामा कसरी जाने भन्नेबारेमा धेरै छलफल गर्यौँ ।’

पार्टीले राष्ट्रिय स्वतन्त्र पार्टीसँगको सहमति भंग भएको पनि जनाएको छ । यो बीचमा उज्यालो पार्टी नेपालले ठूलो क्षति व्यहोर्नुपरेको र सहमति भंग भएको रास्वपाले घोषणा गरेको भन्दै घिसिङले आपत्ति जनाएका थिए ।