काठमाडौं । नेपाली बजारमा आज सुन र चाँदी दुवैको मूल्यमा उल्लेख्य वृद्धि देखिएको छ। पछिल्ला केही दिनको उतारचढावपछि सुनको मूल्य फेरि उकालो लागेको हो भने चाँदी लगातार महँगिँदै गएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ४४ सय रुपैयाँले बढेर ३ लाख २ हजार ९ सय रुपैयाँ पुगेको छ। अघिल्लो कारोबार दिन सुनको मूल्य २ लाख ९८ हजार ५ सय रुपैयाँमा कायम थियो।
यसअघि आइतबार पनि सुनको मूल्य घटेर २ लाख ९८ हजार ९ सय रुपैयाँमा झरेको थियो। दुई दिनको गिरावटपछि आज बजारमा सुनको मूल्यमा एकैपटक ठूलो वृद्धि देखिएको महासंघले जनाएको छ।
यता चाँदीको मूल्य पनि लगातार बढिरहेको छ। आज चाँदी तोलामा ३१० रुपैयाँले बढेर ५ हजार ६९५ रुपैयाँ पुगेको छ। सोमबार चाँदीको मूल्य ५ हजार ३४० रुपैयाँ थियो।
अन्तर्राष्ट्रिय बजारको प्रभाव र स्थानीय मागका कारण पछिल्ला दिनमा सुनचाँदीको मूल्य निरन्तर परिवर्तन भइरहेको व्यवसायीहरू बताउँछन्।