कोशी करिडोरको कठिन सडक निर्माण सम्पन्न, सेनाद्वारा सडक विभागलाई हस्तान्तरण

४ हप्ता अगाडि
कोशी करिडोरको कठिन सडक निर्माण सम्पन्न, सेनाद्वारा सडक विभागलाई हस्तान्तरण

काठमाडौं । नेपाली सेनाले उत्तर-दक्षिण कोशी राजमार्गअन्तर्गत अत्यन्त चुनौतीपूर्ण मानिएको च्याम्ताङ-घोङ्गप्पा सडकखण्ड निर्माण सम्पन्न गरेर सडक विभागलाई हस्तान्तरण गरेको छ।

सङ्खुवासभाको दुर्गम भूभागमा पर्ने १० दशमलव ८१ किलोमिटर लामो उक्त सडकखण्ड कडा चट्टान, भीर र कठिन भूगोलका कारण निर्माणका लागि जटिल मानिएको थियो। निर्माण कार्य सम्पन्न भएपछि सेनाले सोमबार आयोजना पक्षलाई औपचारिक रूपमा हस्तान्तरण गरेको हो।

यो सडक भारतको जोगबनीदेखि विराटनगर हुँदै चीनसँगको सीमावर्ती क्षेत्र किमाथाङ्कासम्म जोड्ने उत्तर–दक्षिण कोशी राजमार्गको महत्वपूर्ण हिस्सा हो। राष्ट्रिय गौरवको आयोजनाका रूपमा अघि बढाइएको कोशी राजमार्ग कुल ३९० किलोमिटर लामो रहेको छ।

खाँदबारीदेखि किमाथाङ्कासम्मको सडक खण्डमध्ये च्याम्ताङ–घोङ्गप्पा भाग सबैभन्दा कठिन क्षेत्रका रूपमा चिनिन्थ्यो। सेनाले करिब पाँच वर्ष लगाएर उक्त सडक निर्माण तथा स्तरोन्नतिको काम सम्पन्न गरेको जनाएको छ।

निर्माणका क्रममा सडक क्षेत्रमा आवश्यक सामग्री हेलिकप्टरमार्फत ढुवानी गरिएको थियो। कडा चट्टान फुटाउन विस्फोटक पदार्थ प्रयोग गर्नुपर्ने अवस्था आएपछि सरकारले सेनालाई निर्माणको जिम्मेवारी दिएको थियो।

आयोजना पक्षका अनुसार यो सडक सञ्चालनमा आएपछि कोशी प्रदेशका सङ्खुवासभा, धनकुटा, तेह्रथुम, सुनसुरी, मोरङ, झापा र भोजपुरवासीप्रत्यक्ष रूपमा लाभान्वित हुने अपेक्षा गरिएको छ

हालसम्म खाँदबारी–किमाथाङ्का सडक निर्माणमा ६२ करोड रुपैयाँभन्दा बढी खर्च भइसकेको जनाइएको छ।