माैसम पूर्वानुमान

देशका केही भूभागमा आज वर्षा, हावाहुरी र असिनाको सम्भावना

३ हप्ता अगाडि
देशका केही भूभागमा आज वर्षा, हावाहुरी र असिनाको सम्भावना

काठमाडौं । देशका केही भूभागमा आज हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना रहेको छ । केही स्थानमा हावाहुरी र असिना पनि पर्न सक्ने मौसमविद्ले बताएका छन् ।

जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशलगायत देशका हिमाली तथा पहाडी भूभागमा साधारणतया बदली रहनेछ । बाँकी भूभागमा आंशिक बदली रहने पूर्वानुमान गरिएको छ ।

कोसी, वाग्मती र गण्डकी प्रदेशका केही स्थानमा तथा मधेस प्रदेशसहित अन्य हिमाली र पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । केही उच्च हिमाली क्षेत्रमा हिमपात पनि हुन सक्ने बताइएको छ ।

यस्तै, बाँकी तराई भूभागका एक–दुई स्थानमा पनि मेघगर्जन र चट्याङसहित वर्षा हुन सक्ने सम्भावना रहेको छ ।

सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई जिल्लामा हावाहुरी, असिना र चट्याङको जोखिम रहेकाले सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।

राति पनि कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशलगायत देशका हिमाली तथा पहाडी भूभागमा साधारणतया बदली रहनेछ भने बाँकी भूभागमा आंशिक बदली रहने पूर्वानुमान गरिएको छ ।

रातिको समयमा पनि कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशका थोरै स्थानमा तथा अन्य प्रदेशका हिमाली र पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको विभागले जनाएको छ ।

हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको प्रभाव सक्रिय रहेको मौसमविद्को भनाइ छ ।