काठमाडौँ । सरकारले सातामा दुई दिन सार्वजनिक बिदा लागू गरेपछि शिक्षा मन्त्रालयले विद्यालयका लागि नयाँ कार्यतालिका लागू गरेको छ।
शिक्षा तथा मानव स्रोत विकास केन्द्रका अनुसार शैक्षिक सत्र २०८३ देखि सोमबारदेखि शुक्रबारसम्म नियमित पठनपाठन सञ्चालन हुनेछ।
दैनिक १५ मिनेट प्रार्थना र ३० मिनेट खाजा समय छुट्याइने व्यवस्था गरिएको छ। हिउँदे तथा बर्से बिदा ४५ दिनबाट घटाएर ३० दिन कायम गरिएको छ।
अन्तिम परीक्षा तथा नतिजा प्रकाशनका लागि शैक्षिक सत्रको अन्तिम १२ दिन छुट्याइएको छ। शुक्रबार परियोजना कार्य, प्रयोगात्मक अभ्यास तथा सूचना प्रविधिमा आधारित सिकाइ सञ्चालन गर्न सकिने मन्त्रालयले जनाएको छ।