काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको छ । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विरुवामा पानी हालेर महाधिवेशनको उद्घाटन गरेका थिए ।
उद्घाटनसत्रमा विभिन्न सांस्कृतिक कार्यक्रमसहित नेताहरुले सम्बोधन गरेका छन् । पार्टीभित्र चर्को आन्तरिक विवादकाबीच भएको यो विशेष महाधिवेशनलाई चासोका साथ हेरिएको छ ।
उद्घाटनमा विशेष महाधिवेशनको विपक्षमा उभिएका सभापति शेरबहादुर देउवा पक्षदेखि नेता शेखर कोइराला पक्षसम्मका नेता सहभागी भएका छन् ।
देउवानिकट रहेका पूर्वउपभापति गोपालमान श्रेष्ठसहित चुनावअघि महाधिवेशनका पक्षमा खुलेका संस्थापन पक्षका केन्द्रीय सदस्यहरू पनि विशेष महाधिवेशनमा सहभागी भए । संस्थापन पक्षका केन्द्रीय सदस्य तारामान गुरुङ, डिला सङ्ग्रौला, चिनकाजी श्रेष्ठ, पुष्पा भुसाल, कर्ण मल्ल, अर्जुन जोशी, राजन केसी, विनोद चौधरी लगायत पनि सहभागी भए ।
पूर्वसभामुख तारानाथ रानाभाट पनि महाधिवेशनस्थलमा उत्रिएका छन् । शेखरनिकट रहेका चन्द्र भण्डारी, सुनिल शर्मा, कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीसहित नेताहरू पनि सहभागी भए ।
महाधिवेशनस्थलमा केही नयाँ दृश्यहरू पनि देखिएका छन् । महाधिवेशनको मञ्चमा केही कुसनहरू राखिएको छ । जहाँ कुर्सी राखिएको छैन । दर्शकदीर्घामा भने कुर्सीहरू राखिएको छ । जहाँ महाधिवेशन प्रतिनिधि र नेता कार्यकर्तालाई राखिएको छ । र्यालीमा सहभागी नेता तथा कार्यकर्ताहरूले नेतृत्व परिवर्तन हुनुपर्ने माग राखेका छन् । प्रतिनिधिहरूले ‘अब पालो गगन–विश्व युग’ को भन्दै नारा लगाएका छन् ।