काठमाडौँ । सगरमाथा आरोहणका लागि चुचुरोसम्मको बाटो निर्माण सम्पन्न भएको छ। पर्यटन विभागका अनुसार बुधबार बिहान १०ः२५ बजे डोरी टाँग्ने काम पूरा भएसँगै वसन्त ऋतुको आरोहण औपचारिक रूपमा खुला भएको हो।
खुम्बु आइसफलदेखि माथिल्लो भागसम्म मार्ग व्यवस्थापनको जिम्मा सगरमाथा प्रदूषण नियन्त्रण समिति र पर्वतारोहण सञ्चालक संघ नेपालले लिएका थिए।
आधार शिविरदेखि क्याम्प–२ सम्म आइसफल डाक्टरहरूको टोली खटिएको थियो भने क्याम्प–२ देखि चुचुरोसम्म अनुभवी शेर्पा टोलीले डोरी टाँगेको हो। बाटो खुलेसँगै आरोहीहरू माथिल्ला शिविरतर्फ उक्लिन थालेका छन्। यस वर्ष पनि सयौँ विदेशी तथा नेपाली आरोही सगरमाथा आरोहणको तयारीमा छन्।