कांग्रेस विशेष महाधिवेशन

भृकुटीमण्डपबाट राजनीतिक 'सत्ताच्यूत' देउवा

३ महिना अगाडि
भृकुटीमण्डपबाट राजनीतिक 'सत्ताच्यूत' देउवा

सपना पौड्याल

काठमाडौं । भदौ २३-२४ गतेको जेनजी विद्रोह र पुस २७ गतेको कांग्रेस विद्रोह करिब करिब उस्तै मुद्दामा केन्द्रित छ । उही असफल नेताहरुले मुलुक जबरजस्ती घिसारिरहँदा भ्रष्टाचार, अनियमितता, नातवाद, कृपावादले बलियो किल्ला गाढी रहेको थियो ।

आम नागरिकमा निराशा बढिरहँदा सुरुभयो नागरिक विद्रोह, प्रारुप दिइरहेका थिए, नौजवानले । उनीहरुले सरकार विरोधी आन्दोलनमात्र गरेका थिएनन् । उनीहरुले दलभित्रको लोकतन्त्र पनि खोजिरहेका थिए । पटक पटक राज्य सत्ता र पार्टी सत्तामा आलोपालो गरिरहेका एउटैखाले असफल अनुहार हेरिरहँदा दिक्क नागरिक हरेक दलमा परिवर्तन चाहन्थे ।

आज विशेष महाधिवेशनका रुपमा नेपाली कांग्रेसले त्यो भावना सम्बोधन गर्न ठूलो रिक्स लिएर आफूलाई मैदानमा उतारेको छ । नेतृत्व गरेका छन्, महामन्त्रीहरु गगन थापा र विश्वप्रकाश शर्माले । 

विधान, पद्दती, नीति नियम अनि आम भावनाको सम्बोधन गर्न तमाम कांग्रेसजनहरु मैदानमा उत्रिएका छन् । त्यसैले विश्लेषक मुमाराम खनाल सामाजिक सञ्जाल एक्समा लेख्छन्, 'नेपाली कांग्रेस डेमोक्रेटिक दल भएको हुनाले सभापति जतिसुकै निरंकुश र मुर्ख भए पनि महामन्त्रीहरूले पहल लिए। विधानको मर्ममा टेकेर सभापतिको अवैधानिक कर्मलाई निष्काम तुल्याइदिए। विशेष महाधिवेशेन बोलाए र सबै उर्जावान कार्यकर्तालाई नयाँ राजनीतिक परिवेशमा सक्रिय तुल्याए। पार्टीमा गजबको नयाँ उर्जा प्रवाहित गरे।' 

उनले भनेजस्तै धेरै विश्लेषक र राजनीतिक चिन्तकहरुले कांग्रेसको यो अभियानलाई खुलेर प्रसंसा गरेका छन् । त्योसँगै शक्तिकै वरिपरि रमाइरहन चाहने कांग्रेस सभापति शेरबहादुर देउवाको निकम्मापनमा पनि प्रश्न उठाइरहेका छन् । चार वर्षअघि २०७८ मंसिरमा १४औँ महाधिवेशनले देउवालाई २ हजार ७ सय ३३ मत मात्र दिएको थिएन, ८० प्रतिशत हाराहारीमा केन्द्रीय समिति पनि दिएको थियो ।

आज उनकै निकम्मापनले ति समर्थनहरु भृकुटीमण्डपबाट राजनीतिकरुपमा खोसिएको छ । यो समाचार तयार पार्दासम्म २ हजार ६ सय ६२ अर्थात ५६.१२ प्रतिशतले देउवाको विदाई माग गर्दै उनप्रतिको समर्थन फिर्ता लिन विशेष महाधिवेशनमा नाम दर्ता गराइसकेका छन् ।

राजनीतिकरुपमा निकै उत्तारचढाव खेपेका देउवाले पछिल्ला २ वर्षमा विचार र सिद्धान्तै नमिल्ने कम्युनिष्ट पार्टीहरुसँग अंकमाल गर्दै आए । पटक पटक प्रधानमन्त्री बनेका देउवाले देशका लागि भन्नै पर्ने, आशा गर्नै खाले काम गर्न सकेनन् । उल्टो कांग्रेसको वाक स्वतन्त्रता विपरित एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री रहँदा सामाजिक सञ्जाल बन्द गराउन हात मिलाए ।

आमनागरिकमा आक्रोश त बढेकै थियो, त्यसलाई घिउ हाल्ने काम गर्यो । परिणाम भदौ २३, २४ जन्मियो । आक्रोश यति ठूलो थियो कि उनले आफ्नै घरमा रत्तपच्छे हुने गरी कुटाइ खानुपर्यो । तर पनि उनी सुझबुझपूर्ण नेता बन्दैछन् भन्ने सन्देश दिन असोज २८ गते सुरु भएको केन्द्रीय समिति बैठकमा नियमित महाधिवेशन गर्न र सक्रिय राजनीतिबाट विश्राम लिएको उद्घोष गर्दै उपसभापति पूर्णबहादुर खड्कालाई कार्यबाहक दिए । उनले चौतर्फी वाहवाही कमाए । तर, त्यो त उनको सकुनी चाल पो देखियो । उनी महाराजगञ्जको निवासबाट पुनः भित्रभित्रै सक्रिय बने र ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको मनोभाव लत्याइदिए ।

न नियमित महाधिवेशनका लागि अग्रसरता नै लिए न विशेष महाधिवेशन गराउन नै सक्रिय बने । अन्नतः कांग्रेसमा भूइमान्छेको विद्रोह भयो । भृकुटीमण्डपमा छाती खोलेर कांग्रसीहरु मैदानमा उत्रिए र उनकै गुटमा रहेको ३० भन्दा बढी केन्द्रीय सदस्य विद्रोहको विगुलमा सामेल भएका छन् । भोलि प्राविधिकरुपमा जे होस् तर भूईं-कांग्रेसको नेतृत्व गरेका गगन विश्वहरुले राजनीति जितेका छन् ।