काठमाडौं । देशभर आज मौसम आंशिकदेखि सामान्य बदली रहने तथा विभिन्न प्रदेशमा वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन्।
जल तथा मौसम विज्ञान विभागका अनुसार पश्चिमी वायु, स्थानीय वायु र नेपाल आसपासको न्यूनचापीय प्रणालीको प्रभावका कारण मौसम प्रभावित बनेको हो।
दिउँसो कोसी, वाग्मती र गण्डकी प्रदेशका साथै हिमाली तथा पहाडी क्षेत्रमा सामान्य बदली रहने अनुमान गरिएको छ। ती क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम खालको वर्षा हुन सक्ने सम्भावना रहेको विभागले जनाएको छ। उच्च हिमाली क्षेत्रमा हल्का हिमपात पनि हुन सक्ने बताइएको छ।
तराईका अधिकांश क्षेत्रमा आंशिक बदली रहनेछ भने केही स्थानमा क्षणिक वर्षा हुन सक्ने अनुमान गरिएको छ।
रातिको समयमा पनि कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागमा मौसम बदली रहने सम्भावना छ। कर्णाली र सुदूरपश्चिमका उच्च हिमाली क्षेत्रमा समेत वर्षा वा हिमपात हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।