काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले पेप्सीकोलामा रहेको वरुण वेभरेज नेपाल प्रालिद्वारा उत्पादन गरिएको माउन्टेन ड्यूको एक ब्याचमाथि बिक्रीवितरण रोक लगाएको छ।
सामाजिक सञ्जालमा एक उपभोक्ताले उक्त पेयपदार्थ सेवन गरेपछि स्वास्थ्य समस्या देखिएको भिडियो सार्वजनिक भएपछि विभागको टोलीले उद्योगमा आकस्मिक अनुगमन गरेको थियो। त्यसक्रममा ब्याच नं. १६८ अन्तर्गत उत्पादन गरिएको २५० मिलिलिटर प्याकको पेयपदार्थमा समस्या हुन सक्ने आशंका गरिएको विभागले जनाएको छ।
अनुगमनका क्रममा उक्त ब्याचका अधिकांश उत्पादन बजारमा पठाइसकिएको र उद्योगको गोदाममा सीमित परिमाण मात्र बाँकी रहेको पाइएको छ। विभागले नमुना सङ्कलन गरी प्रयोगशाला परीक्षणका लागि पठाएको छ। प्रतिवेदन नआउँदासम्म सो ब्याचका पेयपदार्थ बिक्री नगर्न उद्योग र डिलरलाई निर्देशन दिइएको छ।
विभागले उत्पादनमा प्रयोग गरिएका कच्चा पदार्थ, गुणस्तर परीक्षण र खाद्य स्वच्छतासम्बन्धी अभिलेख पाँच दिनभित्र उपलब्ध गराउन कम्पनीलाई निर्देशन दिएको जनाएको छ।
यस्तै, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमनका क्रममा नियम उल्लंघन गर्ने दुई व्यवसायिक फर्मलाई जरिवाना गरेको छ। सुन्धारास्थित बोस सुज इन्डस्ट्रिज प्रालिलाई ५० हजार रुपैयाँ र धापासीस्थित केआर इन्टरप्राइजेजलाई ५ हजार रुपैयाँ जरिवाना गरिएको विभागले जनाएको छ।
बिलबिजक नदिने तथा उपभोक्ता हितविपरीत गतिविधि गरेको पाइएपछि कारबाही गरिएको विभागको भनाइ छ। अन्य केही फर्मलाई भने सुधार गर्न निर्देशन दिइएको छ।