बारा–पर्सा क्षेत्रमा डोजर चल्दा व्यवसायी आक्रोशित, स्थानीयले लगाए राज्य दमनको आरोप

३ हप्ता अगाडि
बारा–पर्सा क्षेत्रमा डोजर चल्दा व्यवसायी आक्रोशित, स्थानीयले लगाए राज्य दमनको आरोप

बारा । डिभिजन वन कार्यालय बाराले त्रिभुवन राजमार्गअन्तर्गत तीन नम्बर पुल आसपासको बस्ती डोजर प्रयोग गरेर हटाएको छ। शुक्रबार बिहान पर्सा राष्ट्रिय निकुञ्ज र डिभिजन सडक कार्यालय हेटौंडाको टोलीको सहयोगमा बस्ती खाली गराइएको हो।

डिभिजन वन कार्यालय बाराका प्रमुख सुजित कुमार झाले वन क्षेत्र तथा निकुञ्ज अतिक्रमण गरेर बनाइएका संरचना हटाउन बाध्य भएको बताए। उनका अनुसार पटक–पटक सूचना जारी गर्दा पनि स्थानीयले अटेर गरेपछि डोजर प्रयोग गरिएको हो।

यसअघि सडक विभागले त्रिभुवन राजपथको दुवैतर्फ २५–२५ मिटर क्षेत्र खाली गर्न सूचना जारी गरेपछि धेरै व्यवसायीले आफैंले टहरा हटाएर सडक सीमाभन्दा बाहिर व्यवसाय सञ्चालन गरिरहेका थिए। तर त्यसपछि पनि अचानक डोजर चलाइएपछि व्यवसायीहरूले राज्यले अन्यायपूर्ण ढंगले दमन गरेको आरोप लगाएका छन्।

स्थानीय अगुवा अनिल पाख्रिनले २०४५ सालदेखि व्यवसाय गर्दै आएका स्थानीयलाई वैकल्पिक व्यवस्था नगरी हटाइनु अमानवीय भएको बताए। उनका अनुसार सडक क्षेत्रभित्रका संरचना हटाइसकेपछि थप समय दिइने आशा गरिएको थियो।

तीन नम्बर पुल क्षेत्र त्रिभुवन राजमार्ग भएर यात्रा गर्ने यात्रुहरूको प्रमुख विश्रामस्थलका रूपमा परिचित थियो। यहाँ करिब ७० भन्दा बढी होटल तथा साना व्यवसाय सञ्चालनमा थिए। बजार पूर्ण रूपमा खाली गराइएपछि स्थानीयको जीविकोपार्जन संकटमा परेको छ।

स्थानीय व्यवसायी मिनाकुमारी रुम्बाले केही दिनअघि मात्र १२ लाख रुपैयाँ ऋण लिएर नयाँ घर बनाएको बताउँदै अहिले सबै लगानी डुबेको गुनासो गरिन्।

उद्योग वाणिज्य संघ जीतपुरसिमराका अध्यक्ष मोहन शर्माले व्यवसायीलाई स्थानान्तरणका लागि पर्याप्त समय नदिई डोजर चलाउनु राज्यको बर्बर व्यवहार भएको टिप्पणी गरे।

तर वन कार्यालयले भने पटक–पटक माइकिङ, सूचना टाँस तथा आग्रह गर्दा पनि अटेर गरिएकाले कानुनी प्रक्रिया अनुसार हटाउनुपरेको जनाएको छ।