भारतसँग प्रतिस्पर्धाबाट नेपालले सुरु गर्दै काभा महिला भलिबल च्याम्पियनसिप

३ हप्ता अगाडि
भारतसँग प्रतिस्पर्धाबाट नेपालले सुरु गर्दै काभा महिला भलिबल च्याम्पियनसिप

काठमाडौँ । नेपाली महिला भलिबल टोलीले घरेलु मैदानमा आयोजना हुने काभा महिला भलिबल च्याम्पियनसिप-२०२६ को यात्रा चिरपरिचित प्रतिद्वन्द्वी भारतसँगको खेलबाट सुरु गर्ने भएको छ। सेन्ट्रल एसिया भलिबल एसोसिएसनले सार्वजनिक गरेको खेलतालिका अनुसार नेपाल र भारत एउटै समूहमा परेका छन्।

समूह ‘ए’ मा नेपाल, भारत, कीर्गिस्तान र माल्दिभ्स रहेका छन् भने समूह ‘बी’ मा इरान, कजाखस्तान, श्रीलंका र बंगलादेश छन्। प्रतियोगितामा कुल आठ राष्ट्र सहभागी हुनेछन्।

पछिल्ला केही वर्षयता नेपाल र भारतबीच महिला भलिबलमा रोचक प्रतिस्पर्धा हुँदै आएको छ। दक्षिण एसियाली खेलकुददेखि काभाका विभिन्न प्रतियोगितासम्म यी दुई टोली लगातार आमनेसामने हुँदै आएका छन्। एक समय भारतविरुद्ध एक सेट जित्नसमेत कठिन मानिने नेपाली टोलीले पछिल्ला वर्षहरूमा उल्लेखनीय सुधार गर्दै भारतलाई नै पराजित गर्न सफल भइसकेको छ।

दुई वर्षअघि काठमाडौँमै भएको काभा नेसन्स लिगमा नेपालले भारतलाई हराएर ऐतिहासिक सफलता हासिल गरेको थियो। त्यसपछि नेपाल–भारत प्रतिस्पर्धालाई दक्षिण एसियाली महिला भलिबलको सबैभन्दा चर्चित प्रतिस्पर्धाका रूपमा हेरिन थालेको छ।

यसपटकको प्रतियोगिता जेठ ८ देखि १५ गतेसम्म सञ्चालन हुनेछ। घरेलु समर्थकको साथ र पछिल्लो सफलताबाट उत्साहित नेपाली टोली पहिलो खेलमै भारतलाई हराउँदै विजयी सुरुवात गर्ने लक्ष्यमा रहेको छ। सेमिफाइनल यात्रा सहज बनाउन दुवै टोलीका लागि पहिलो खेल अत्यन्त महत्वपूर्ण मानिएको छ।

नेपालले पछिल्ला वर्षमा महिला भलिबलमा गरेको प्रगति, खेलाडीहरूको आत्मविश्वास र घरेलु मैदानको फाइदाका कारण समर्थकहरू उत्साहित देखिएका छन्।