दातृ निकाय र अन्तर्राष्ट्रिय संस्थाबाट आएको ४१ अर्बको खर्च लेखापरीक्षण छैन

३ हप्ता अगाडि
दातृ निकाय र अन्तर्राष्ट्रिय संस्थाबाट आएको ४१ अर्बको खर्च लेखापरीक्षण छैन

काठमाडौँ । दातृ निकाय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थामार्फत प्राप्त ४१ अर्ब रुपैयाँभन्दा बढी रकमको खर्च लेखापरीक्षण नभएको पाइएको छ।

महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको वार्षिक प्रतिवेदनमा सरकारी निकायहरूले विदेशी सहयोगबाट प्राप्त रकमको खर्च विवरण समावेश नगरेको उल्लेख गरिएको हो।

प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८१/८२ मा विभिन्न संघीय मन्त्रालय तथा निकायका १२० वटा आयोजना र कार्यक्रमका लागि १९ अर्ब २४ करोड रुपैयाँ प्राविधिक सहायता प्राप्त भएको थियो।

त्यसैगरी अन्तर्राष्ट्रिय गैरसरकारी संस्थामार्फत १५४ वटा कार्यक्रमका लागि २२ अर्ब २२ करोड रुपैयाँ प्राप्त भएको थियो। यी दुवै रकम जोड्दा कुल ४१ अर्ब ४७ करोड रुपैयाँ सहायता प्राप्त भएको देखिन्छ।

तर सो रकमको खर्च सरकारी अभिलेख तथा लेखापरीक्षण प्रक्रियामा समावेश नगरिएको भन्दै महालेखाले गम्भीर प्रश्न उठाएको छ। प्रतिवेदनमा सबै विदेशी सहायता बजेट प्रणालीभित्र ल्याई पारदर्शी रूपमा खर्च विवरण सार्वजनिक गर्नुपर्ने सुझाव दिइएको छ।