आज देशभर आंशिक बदली, काठमाडौंमा के हाेला ?

३ हप्ता अगाडि
आज देशभर आंशिक बदली, काठमाडौंमा के हाेला ?

काठमाडौं । देशका विभिन्न क्षेत्रमा आज वर्षा, मेघगर्जन, चट्याङ तथा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार शनिबार बिहान कोसी प्रदेशमा सामान्य बदली रहेको छ भने मधेस, बागमती, गण्डकी प्रदेश र हिमाली भेगका केही क्षेत्रमा आंशिक बादल लागेको छ। अन्य स्थानमा भने मौसम मुख्यतया सफा रहेको जनाइएको छ।

हाल कोसी प्रदेशका केही स्थान तथा बागमती प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ।

महाशाखाले बिहान ८ बजे जारी गरेको बुलेटिनअनुसार दिउँसो कोसी प्रदेशसहित बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली तथा पहाडी भूभागमा सामान्य बदली रहनेछ। अन्य पहाडी र तराई क्षेत्रमा पनि आंशिक बदलीको सम्भावना रहेको छ।

दिउँसो कोसी प्रदेशका केही स्थान तथा बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने अनुमान गरिएको छ। साथै, अन्य हिमाली तथा पहाडी क्षेत्रका एक–दुई स्थानमा पनि वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन्।

हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ भने तराईका केही स्थानमा हुरी चल्न सक्ने चेतावनी दिइएको छ।

रातिको समयमा पनि कोसी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागमा सामान्य बदली रहने तथा मधेससहित अन्य पहाडी र हिमाली क्षेत्रमा आंशिक बदली कायम रहने महाशाखाले जनाएको छ। तराई क्षेत्रमा भने मौसम मुख्यतया सफा रहने अनुमान छ।

राति पनि कोसी प्रदेशका थोरै स्थान तथा बागमती र गण्डकी प्रदेशका केही पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको छ। मधेस र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा हुरी चल्न सक्ने सम्भावना पनि रहेको छ।

यता, मौसमविद् सञ्जीव अधिकारीले काठमाडौं उपत्यकामा आज दिउँसोपछि मध्यम वर्षा हुन सक्ने बताएका छन्। उनका अनुसार दिउँसो १–२ बजेसम्म मौसम आंशिक बदली रहने र त्यसपछि बादल बढ्दै गएर वर्षाको सम्भावना देखिएको हो।

मौसमविद्का अनुसार २४ घण्टाभित्र १० मिलिमिटरभन्दा कम पानी परे हल्का वर्षा मानिन्छ। १० देखि ५० मिलिमिटरसम्म पानी परे मध्यम वर्षा तथा ५० देखि १०० मिलिमिटरसम्म वर्षा भए भारी वर्षा भएको मानिने गरिएको छ।