सिन्धुपाल्चोकबाट ५६ लाखभन्दा बढीका भेप बरामद, सात जना पक्राउ

३ हप्ता अगाडि
सिन्धुपाल्चोकबाट ५६ लाखभन्दा बढीका भेप बरामद, सात जना पक्राउ

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकबाट ठूलो परिमाणमा विद्युतीय चुरोट (भेप) सहित सात जना पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार भोटेकोशी गाउँपालिका-३ गंजेखोलाबाट करिब ५६ लाख ७० हजार रुपैयाँ बराबरका एक हजार ६२० थान भेप बरामद गरिएको हो।

प्रहरीले चीनबाट भोटेकोशी–३ बोक्चेन हुँदै भित्रि बाटो प्रयोग गरेर अवैध रूपमा ल्याइँदै गरेको भेप नियन्त्रणमा लिएको जनाएको छ। अरनिको राजमार्ग नजिक पुग्ने बाटो हुँदै ल्याइँदै गरेको सामान ९ वटा बोराले छोपिएको कार्टुनभित्र लुकाइएको अवस्थामा फेला परेको थियो।

प्रहरीले घटनामा संलग्न रहेको आरोपमा सात जनालाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा भोटेकोशी गाउँपालिका–४ का गणेश खड्का, हिमाल खड्का, विकास विक, रामबहादुर विक, विशाल रक्पाल, मंगलबहादुर थामी तथा बाह्रबिसे नगरपालिका–५ का कान्छा तामाङ रहेका छन्।

उनीहरूलाई हाल इलाका प्रहरी कार्यालय कोदारीमा राखिएको छ। आवश्यक प्रक्रिया पूरा गरी बरामद सामान र पक्राउ परेकालाई भन्सार कार्यालयको जिम्मा लगाइने प्रहरीले जनाएको छ।

नेपाल–चीन सीमा क्षेत्रस्थित तातोपानी नाकाबाट पछिल्लो एक महिनादेखि खाद्य सामग्री आयातमा रोक लगाइएको अवस्थामा अवैध ढुवानी गतिविधि बढ्न सक्ने भन्दै सुरक्षा निगरानी कडा पारिएको प्रहरीले जनाएको छ।