माैसम पूर्वानुमान

पहाडी क्षेत्रमा वर्षा, तराईमा हुरीको सम्भावना

३ हप्ता अगाडि
पहाडी क्षेत्रमा वर्षा, तराईमा हुरीको सम्भावना

काठमाडौं । देशभर अहिले पश्चिमी तथा स्थानीय वायुको प्रभाव देखिएको भन्दै मौसम पूर्वानुमान महाशाखाले विभिन्न प्रदेशमा वर्षा र हुरीको सम्भावना रहेको जनाएको छ ।

महाशाखाका अनुसार अहिले गण्डकी, बागमती र कोशी प्रदेशका केही स्थानमा वर्षा भइरहेको छ । आज दिउँसो कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली तथा पहाडी भूभागमा सामान्यदेखि पूर्ण बदली रहनेछ भने अन्य क्षेत्रमा आंशिक बदलीको अवस्था रहने बताइएको छ ।

कोशी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा तथा बागमती, गण्डकी र कर्णाली प्रदेशका केही भूभागमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ । त्यस्तै, मधेस प्रदेश, लुम्बिनी र सुदूरपश्चिमका पहाडी क्षेत्रमा तथा कोशी तराईका एक–दुई स्थानमा पनि वर्षा हुन सक्ने अनुमान गरिएको छ ।

महाशाखाले विशेषगरी मधेस र कोशी प्रदेशका तराई क्षेत्रमा हुरी चल्न सक्ने सम्भावना औँल्याउँदै आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ । साथै लुम्बिनी र सुदूरपश्चिमका केही क्षेत्रमा तापक्रम बढ्न सक्ने सम्भावना पनि रहेको जनाएको छ ।

आज राति भने कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा सामान्य बदली रहनेछ । कर्णालीको हिमाली क्षेत्र र मधेस प्रदेशमा आंशिक बदली रहने अनुमान गरिएको छ भने अन्य भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।

रातिको समयमा पनि कोशी प्रदेशका केही स्थान तथा बागमती र गण्डकीका पहाडी भूभागमा हल्का वर्षा हुन सक्ने सम्भावना रहेको महाशाखाले जनाएको छ । तराई क्षेत्रमा हुरी चल्न सक्ने भएकाले सतर्क रहन आग्रह गरिएको छ ।