काठमाडौं । काठमाडौँको मच्छेगाउँस्थित मच्छेनारायण मन्दिरमा आजदेखि एकमहिने पुरुषोत्तम मास मेला सुरु भएको छ। ‘मलमास मेला’का रूपमा परिचित यो धार्मिक उत्सवमा उपत्यकासहित देशका विभिन्न स्थानबाट भक्तजन आउने क्रम सुरु भएको छ।
धार्मिक विश्वासअनुसार पुरुषोत्तम मासमा भगवान् नारायणको पूजा–आराधना गरे पुण्य प्राप्त हुने र पाप नष्ट हुने मान्यता रहेको छ। यही आस्थाका कारण भक्तजन मन्दिरमा दर्शन, पूजा तथा धार्मिक अनुष्ठानका लागि पुग्ने गरेका छन्।
मन्दिर परिसरमा सुनको जलप गरिएको गरुडद्वार तथा मत्स्य अवतारको मूर्ति प्रमुख आकर्षणका रूपमा रहेका छन्। यहाँ स्थापित भगवान् मत्स्यनारायणको मूर्तिमा शङ्ख, चक्र, गदा र पद्म धारण गरिएको छ।
हिन्दु धर्मग्रन्थअनुसार भगवान् विष्णुको पहिलो अवतार मत्स्य अवतार मानिन्छ। प्रलयकालमा भगवान् विष्णुले मत्स्य रूप धारण गरी वेदको रक्षा गरेको धार्मिक विश्वास रहिआएको छ।
मेलाका अवसरमा मन्दिर क्षेत्रमा विशेष पूजा, भजनकीर्तन र धार्मिक कार्यक्रम सञ्चालन हुने जनाइएको छ।