काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा लगातार गिरावट देखिएको छ। पछिल्ला दुई कारोबार दिनमा सुनको भाउ प्रतितोला ८ हजार ५ सय रुपैयाँले घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९४ हजार रुपैयाँ निर्धारण गरिएको छ। यो अघिल्लो कारोबार दिनको तुलनामा ४ हजार ५ सय रुपैयाँ कम हो।
यसअघि शुक्रबार पनि सुनको मूल्य प्रतितोला ४ हजार रुपैयाँले घटेको थियो। बिहीबार प्रतितोला ३ लाख २ हजार ५ सय रुपैयाँ पुगेको सुनको भाउ दुई दिनमै उल्लेख्य रूपमा ओरालो लागेको देखिएको छ।
चाँदीको मूल्य पनि घटेको छ। आइतबार चाँदी प्रतितोला ५ हजार ६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। अघिल्लो कारोबार दिन चाँदीको मूल्य ५ हजार ३९० रुपैयाँ थियो भने बिहीबार ५ हजार ७४५ रुपैयाँ पुगेको थियो।
अन्तर्राष्ट्रिय बजारमा आएको उतारचढावको प्रभाव नेपाली बजारमा समेत परेको व्यवसायीहरूको भनाइ छ।