सगरमाथामा फेरि इतिहास रचे कामिरिता, ३२ औँ पटक सफल आरोहण

३ हप्ता अगाडि
सगरमाथामा फेरि इतिहास रचे कामिरिता, ३२ औँ पटक सफल आरोहण

काठमाडौं । विश्वको सर्वोच्च शिखर सगरमाथामा नेपाली आरोही कामिरिता शेर्पाले ३२ औँ पटक सफल आरोहण गर्दै आफ्नै विश्व कीर्तिमानलाई थप उचाइमा पुर्‍याएका छन्।

५६ वर्षीय कामिरिताले आइतबार बिहान सगरमाथाको चुचुरोमा पुगेर नयाँ कीर्तिमान कायम गरेका हुन्। आरोहण व्यवस्थापन कम्पनी  सेभेन समिट ट्रेक्सका अनुसार उनी बिहान सफलतापूर्वक शिखरमा पुगेका थिए।

‘एभरेष्ट म्यान’का रूपमा परिचित कामिरिता विश्वमै सबैभन्दा धेरै पटक सगरमाथा आरोहण गर्ने व्यक्ति हुन्। सन् १९९४ मा पहिलोपटक सगरमाथा चढेका उनले त्यसयता निरन्तर नयाँ कीर्तिमान बनाउँदै आएका छन्।

सफल आरोहणपछि उनीसहितको टोली आधार शिविरतर्फ फर्किरहेको जनाइएको छ। उनको सुरक्षित अवतरणको कामना गर्दै काठमाडौँमा स्वागतको तयारीसमेत गरिएको बताइएको छ।

महिलातर्फ लाक्पा शेर्पाले राखिन् सबैभन्दा धेरै पटक सगरमाथा आरोहणको विश्वकीर्तिमान

यसैबीच, लाक्पा शेर्पाले पनि ११ औँ पटक सगरमाथा आरोहण गर्दै महिलातर्फ सबैभन्दा धेरै पटक शिखरमा पुग्ने विश्व कीर्तिमान कायम गरेकी छन्।

‘माउन्टेन क्विन’ उपनामले परिचित लाक्पा शेर्पाले आइतबार बिहान सफल आरोहण पूरा गरेकी हुन्। संखुवासभाको मकालु क्षेत्रमा जन्मिएकी उनले नेपाली पर्वतारोहण इतिहासमा अर्को महत्वपूर्ण उपलब्धि थपेकी छन्।