मुस्ताङ । मुस्ताङको लोमान्थाङ गाउँपालिका–४ स्थित एक्लेभट्टी क्षेत्रमा ठूलो परिमाणमा भित्र्याइएको विद्युतीय चुरोट (भेप) सहित विभिन्न सामान बरामद गरिएको छ। घटनामा संलग्न रहेको आरोपमा तीन जनालाई नियन्त्रणमा लिइएको छ।
सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र मुस्ताङ भन्सार कार्यालयको संयुक्त टोलीले चीनतर्फको कोरोला नाका हुँदै काठमाडौँ आउँदै गरेका दुईवटा कन्टेनर जाँच गर्ने क्रममा अवैध सामान फेला पारेको हो।
प्रहरीका अनुसार बरामद सामानमा ५ सय ९० कार्टुन चिनियाँ भेप, विभिन्न कम्पनीका जुत्ता, मोजा, लत्ताकपडा तथा सामान प्याकिङमा प्रयोग हुने खाली कार्टुन बक्ससमेत रहेका छन्।
घटनामा धादिङ र सिन्धुपाल्चोकका तीन जनालाई नियन्त्रणमा लिइएको जनाइएको छ। उनीहरूलाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि नेपाल प्रहरीको जिम्मा लगाइएको छ।
बरामद गरिएका सामान मुस्ताङ भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी बलले जनाएको छ।