जंगली च्याउ सेवनले चितवनमा दुई बालबालिकाको मृत्यु

३ हप्ता अगाडि
जंगली च्याउ सेवनले चितवनमा दुई बालबालिकाको मृत्यु

चितवनको इच्छाकामना गाउँपालिका–१ कुलबाङ क्षेत्रमा जंगली च्याउ सेवनपछि एकै परिवारका दुई बालबालिकाको मृत्यु भएको छ भने अर्की एक बालिकाको अवस्था गम्भीर रहेको छ।

मृत्यु हुनेमा ९ वर्षीया नमुना चेपाङ र ११ वर्षीय सञ्जय चेपाङ रहेका छन्। नमुनाको जेठ १ गते उपचारकै क्रममा निधन भएको थियो भने सञ्जयको शनिबार राति मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार वैशाख २९ गते श्यामबहादुर चेपाङको परिवारका पाँच जनाले जंगलबाट ल्याइएको च्याउ पकाएर खाएका थिए। त्यसपछि परिवारका सदस्यहरू बिरामी परेका थिए।

तीन जनाको अवस्था बिग्रिएपछि उनीहरूलाई उपचारका लागि भरतपुर अस्पताल लगिएको थियो। उपचाररत १३ वर्षीया मनिता चेपाङको अवस्था अझै गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ।

स्वास्थ्यकर्मीहरूले जंगलमा उम्रिएका अपरिचित च्याउ सेवन नगर्न सर्वसाधारणलाई आग्रह गरेका छन्।