तीन लाख माग्ने म्यानपावर कर्मचारी पक्राउ

३ हप्ता अगाडि
तीन लाख माग्ने म्यानपावर कर्मचारी पक्राउ

काठमाडौं । मलेसिया जान लागेका सप्तरीका एक युवासँग तीन लाख रुपैयाँ माग्ने म्यानपावर कम्पनीका कर्मचारी पक्राउ परेका छन् ।

सरकारको ‘फ्री भिसा, फ्री टिकट’ नीतिअनुसार वैदेशिक रोजगारीमा जाने कामदारबाट अधिकतम १० हजार रुपैयाँ मात्र सेवा शुल्क लिन पाइन्छ । तर कोटेश्वरस्थित ग्रान्ड स्वीट जब म्यानपावरका कर्मचारीले अजयकुमार यादवसँग तीन लाख रुपैयाँ मागेको आरोप लागेको छ ।

पीडित यादवले यसअघि ७० हजार रुपैयाँ बुझाइसकेका थिए । बाँकी रकम नदिए राहदानी, श्रम स्वीकृति र टिकट नदिने दबाब दिइएको उनले बताएका छन् । त्यसपछि उनले श्रम मन्त्रालयमा उजुरी दिएका थिए ।

उजुरीपछि प्रहरीको सक्रियतामा ती कर्मचारीलाई तीनकुने क्षेत्रबाट पक्राउ गरिएको हो । प्रहरीले राहदानी, श्रम स्वीकृति र हवाई टिकटसमेत बरामद गरेको जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।