काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपालमा हाल करिब आठ महिनाको माग धान्ने चिनी मौज्दात रहेको जनाएको छ । भारतले चिनी निर्यातमा प्रतिबन्ध लगाए पनि तत्काल बजारमा अभाव नहुने मन्त्रालयको दाबी छ ।
मन्त्रालयका अनुसार खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, साल्ट ट्रेडिङ कर्पोरेसन तथा निजी क्षेत्रसँग पर्याप्त चिनी मौज्दात छ । उद्योगी तथा आपूर्तिकर्ताले बजारमा नियमित आपूर्ति कायम राख्ने प्रतिबद्धता जनाएका छन् ।
चिनीको कृत्रिम अभाव सिर्जना गर्ने, कालोबजारी गर्ने वा मूल्यवृद्धि गराउने प्रयास भए कडा कारबाही गरिने मन्त्रालयले चेतावनी दिएको छ । बजार अनुगमन पनि तीव्र बनाइने बताइएको छ ।
मन्त्रालयले सर्वसाधारणलाई आवश्यकभन्दा बढी चिनी सञ्चिति नगर्न आग्रह गरेको छ ।