प्रिमनसुनमै सामान्यभन्दा तीन गुणा बढी वर्षा

३ हप्ता अगाडि
प्रिमनसुनमै सामान्यभन्दा तीन गुणा बढी वर्षा

काठमाडौं । यस वर्ष नेपालमा प्रिमनसुन अवधिमै सामान्यभन्दा करिब तीन गुणा बढी वर्षा भएको छ । मौसम पूर्वानुमान विभागका अनुसार चैतदेखि वैशाख अन्तिमसम्म २३० मिलिमिटर वर्षा मापन गरिएको छ ।

पश्चिमी वायु प्रणाली लगातार सक्रिय हुँदा देशका विभिन्न भागमा वर्षा, असिना र हिमपात भएको मौसमविद्हरूले बताएका छन् । यसले मौसम अस्वाभाविक रूपमा चिसो बनेको छ ।

अत्यधिक वर्षाका कारण वन डढेलोको जोखिम घटेको भए पनि गहुँ, मकै, मसुरो, केरा तथा तरकारी बालीमा क्षति पुगेको कृषि विज्ञहरूले बताएका छन् ।

विज्ञहरूले एलनिनो प्रभावका कारण आगामी मनसुनमा कम वर्षा र बढी गर्मी हुन सक्ने अनुमान गरेका छन् । बाढी–पहिरोको जोखिम बढ्न सक्ने भएकाले सतर्क रहन पनि आग्रह गरिएको छ ।