काठमाडौं । देशका विभिन्न भूभागमा आज वर्षा र हिमपातको सम्भावना रहेको छ भने केही क्षेत्रमा अधिकतम तापक्रम बढ्ने पूर्वानुमान गरिएको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव कायम रहेकाले पहाडी र हिमाली क्षेत्रमा बदली तथा वर्षाको सम्भावना देखिएको हो ।
दिउँसो कोसी, वागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागमा सामान्य बदली रहनेछ । मधेस प्रदेशसहित अन्य प्रदेशका पहाडी र हिमाली क्षेत्रमा आंशिक बदली रहने विभागले जनाएको छ । तराईका अधिकांश भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।
कोसी प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा तथा वागमती र गण्डकी प्रदेशका थोरै स्थानमा मध्यम वर्षा तथा हिमपात हुन सक्ने सम्भावना रहेको छ ।
यस्तै, मधेस, कोसी, वागमती र गण्डकी प्रदेशका तराई क्षेत्र तथा अन्य पहाडी र हिमाली भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुन सक्ने विभागले जनाएको छ ।
सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा भने तापक्रम बढ्ने अनुमान गरिएको छ । अत्यधिक गर्मी हुन सक्ने भएकाले आवश्यक सावधानी अपनाउन विभागले आग्रह गरेको छ ।
आज राति पनि कोसी, वागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा सामान्य बदली रहनेछ । अन्य पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली रहने र तराई भूभागमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान गरिएको छ ।
रातिको समयमा पनि कोसी, वागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।