ब्रुनो फर्नान्डिजले बराबरी गरे प्रिमियर लिगको ऐतिहासिक असिस्ट कीर्तिमान

३ हप्ता अगाडि
ब्रुनो फर्नान्डिजले बराबरी गरे प्रिमियर लिगको ऐतिहासिक असिस्ट कीर्तिमान

काठमाडौं । म्यानचेस्टर युनाइटेडका कप्तान ब्रुनो फर्नान्डिजले प्रिमियर लिगको जारी सिजनमा २० औँ असिस्ट गर्दै एकै सिजनमा सर्वाधिक असिस्ट गर्ने ऐतिहासिक कीर्तिमानसँग बराबरी गरेका छन् । आइतबार नटिंघम फरेस्टविरुद्धको खेलमा ब्रुनोले दिएको लो क्रस पासलाई ब्रायन बेमुलोले गोलमा परिणत गरेपछि उनले यो उपलब्धि हासिल गरेका हुन् ।

यससँगै ब्रुनोले म्यानचेस्टर सिटीका पूर्व मिडफिल्डर केभिन डी ब्रुने र आर्सनलका पूर्व स्ट्राइकर थियरी हेनरीको कीर्तिमानसँग बराबरी गरेका छन् । खेलको ७७ औँ मिनेटमा कीर्तिमान बराबरी गरेपछि मैदानमा रहेका सबै खेलाडीले उत्साहपूर्वक उनको प्रशंसा गरेका थिए । गोलरक्षक सेने ल्यामेन्सले समेत मैदान दौडेर ब्रुनोलाई अँगालो हालेका थिए ।

प्रिमियर लिगमा युनाइटेडले अब अन्तिम खेल ब्राइटनविरुद्ध खेल्नेछ । ३१ वर्षीय ब्रुनोसँग अब सर्वाधिक असिस्टको कीर्तिमान एक्लै आफ्नो नाममा लेखाउने अवसर अझै बाँकी छ ।

ब्रुनो यस सिजन उत्कृष्ट लयमा देखिएका छन् । उनले हालसम्म १३२ गोलका अवसर सिर्जना गरेका छन् । यो संख्या दोस्रो स्थानमा रहेका लिभरपुलका डोमिनिक सोबोस्लाईको भन्दा ५८ ले बढी हो ।

२०२० यता प्रिमियर लिगमा सबैभन्दा धेरै गोलका अवसर सिर्जना गर्ने खेलाडी पनि ब्रुनो नै बनेका छन् । उनले कुल ६७० अवसर सिर्जना गरेका छन्, जुन केभिन डी ब्रुनेको भन्दा २३८ ले बढी हो ।

प्रिमियर लिगमा डेब्यू गरेयता ब्रुनोले ७१ असिस्ट गरिसकेका छन् । त्यस्तै उनको ७० गोलको आँकडा पार गर्ने खेलाडी संख्या पनि निकै कम छ ।

गोल र असिस्टलाई जोडेर हेर्दा मोहम्मद सलाह बाहेक अन्य कुनै खेलाडी ब्रुनोभन्दा अगाडि छैनन् । सलाहको कुल योगदान १९३ रहेको छ भने ब्रुनोको १४१ पुगेको छ ।

म्यानचेस्टर युनाइटेडका पूर्व डिफेन्डर ग्यारी नेभिलले ब्रुनोको प्रदर्शनलाई “जादुमयी क्षण” को संज्ञा दिएका छन् । उनका अनुसार एकै सिजनमा २० असिस्ट गर्दै दिग्गजहरूको कीर्तिमान बराबरी गर्नु असाधारण उपलब्धि हो ।

नटिंघम फरेस्टविरुद्धको खेलमा मात्रै ब्रुनोले आठ अवसर सिर्जना गरेका थिए । खेलपछि उनले आफ्नो प्रदर्शनप्रति खुसी व्यक्त गर्दै अन्तिम खेलमा थप कीर्तिमान सम्भव रहेको बताएका छन् ।

युनाइटेडका प्रशिक्षक माइकल केरिकले पनि ब्रुनोको खुलेर प्रशंसा गरेका छन् । उनका अनुसार ब्रुनोसँग खेल बुझ्ने र अवसर सिर्जना गर्ने अद्भुत क्षमता छ ।

यस सिजन ब्रुनोकै असिस्टका कारण म्यानचेस्टर युनाइटेडले २१ अंक जोडेको बताइएको छ । उनले सन् १९९९ मा डेभिड बेकहमले बनाएको अवसर सिर्जनाको कीर्तिमानसमेत पछि पारिसकेका छन् ।

अब ब्राइटनविरुद्धको खेलमा उनले थप १४ अवसर सिर्जना गर्न सके मेसुत ओजिलको एकै सिजनमा सर्वाधिक १४६ अवसर सिर्जना गर्ने कीर्तिमान पनि तोड्नेछन् ।