काठमाडौं । नेपालका लेग स्पिनर सन्दीप लामिछाने एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) क्रिकेटमा नयाँ विश्व रेकर्ड कायम गरेका छन्। आईसीसी विश्वकप लिग-२ अन्तर्गत स्कटल्यान्डविरुद्ध भएको खेलमा उनले सबैभन्दा छिटो १५० विकेट पूरा गर्ने खेलाडीको कीर्तिमान आफ्नो नाममा लेखाए।
यसअघि यो रेकर्ड मिचेल स्टार्सको नाममा थियो। स्टार्कले ७७ खेलमा १५० विकेट पूरा गरेका थिए भने सन्दीपले मात्र ७३ ओडीआई खेलमै उक्त उपलब्धि हासिल गरेका हुन्। उनले ७१ इनिङ्समा यो सफलता प्राप्त गरेका हुन्।
स्कटल्यान्डविरुद्धको खेलमा सन्दीपले जर्ज मुन्सेलाई आउट गर्दै आफ्नो १४९औँ विकेट लिए। त्यसपछि ब्रान्डन मकमलेनलाई क्याच आउट गराएर उनले १५० विकेटको ऐतिहासिक आँकडा पूरा गरे।
ओडीआई क्रिकेटमा सन्दीपको उत्कृष्ट प्रदर्शन पीएनजीविरुद्ध आएको थियो, जहाँ उनले ११ रन खर्चेर ६ विकेट लिएका थिए। उनले यसअघि सबैभन्दा छिटो १०० विकेट लिने विश्व रेकर्ड पनि बनाएका थिए। त्यस्तै लगातार तीन ओडीआई खेलमा चार–चार विकेट लिने उपलब्धि समेत उनकै नाममा रहेको छ।