पूर्वमन्त्री रामेश्वर चौधरी १० लाख धरौटीमा रिहा

३ हप्ता अगाडि
पूर्वमन्त्री रामेश्वर चौधरी १० लाख धरौटीमा रिहा

कैलाली । सुदूरपश्चिम प्रदेशका पूर्वमन्त्री रामेश्वर चौधरी १० लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका छन् ।

कृषिमन्त्री हुँदा किसानलाई पावर टिलर उपलब्ध गराउने नाममा रकम ठगी गरेको आरोपमा जिल्ला अदालत बर्दियाले उनीसँग १० लाख रुपैयाँ धरौटी माग गरेको थियो । अदालतको आदेशपछि उनले धरौटी बुझाएर रिहा भएका हुन् ।

नागरिक उन्मुक्ति पार्टीबाट निर्वाचित चौधरी सुदूरपश्चिम प्रदेश सरकारमा भूमि व्यवस्था, कृषि तथा सहकारी तथा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री बनेका थिए ।

सुरो नेपाल नामक संस्थाले बर्दियाको बारबर्दिया गाउँपालिकामा किसानलाई अनुदानमा पावर टिलर दिने भन्दै रकम संकलन गरेको थियो । किसानहरूले संस्थाकी सुशीला खड्काको खातामा ५७ लाख रुपैयाँ जम्मा गरेको र थप १७ लाख रुपैयाँ मन्त्री चौधरीलाई दिएको आरोप लगाएका छन् ।

उक्त घटनाबारे २०८२ भदौ १८ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी परेको थियो । अनुसन्धानपछि २०८३ वैशाख १८ गते चौधरी, खड्का र अन्य दुई जनाविरुद्ध मुद्दा दायर गरिएको थियो ।

अदालतले खड्कासँग पनि १० लाख रुपैयाँ धरौटी मागेको थियो । धरौटी तिर्न नसकेपछि उनी हाल कारागारमै रहेको प्रहरीले जनाएको छ ।

यता पूर्वमन्त्री चौधरीले भने आफूले कसैसँग रकम नलिएको दाबी गरेका छन् ।