विश्वकप लिग–२

स्कटल्यान्डलाई हराउँदै नेपाल पाँचौँ स्थानमा उक्लियो

३ हप्ता अगाडि
स्कटल्यान्डलाई हराउँदै नेपाल पाँचौँ स्थानमा उक्लियो

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत सोमबार भएको खेलमा नेपालले शीर्ष स्थानको स्कटल्यान्डलाई ६ विकेटले पराजित गरेको छ । जारी शृंखलामा दोस्रो जित हात पारेसँगै नेपाल अंकतालिकामा पाँचौँ स्थानमा उक्लिएको हो ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा स्कटल्यान्डले दिएको १९५ रनको लक्ष्य नेपालले ३८ ओभर १ बलमा ४ विकेट गुमाएर पूरा गर्‍यो । नेपालले १९९ रन बनाउँदै सहज जित निकालेको हो ।

नेपालको जितमा कप्तान रोहित पौडेलले अविजित ७४ रनको उत्कृष्ट पारी खेले । उनले ९८ बलमा ५ चौका र २ छक्का प्रहार गरे । रोहितले इशान पाण्डेसँग तेस्रो विकेटका लागि शतकीय साझेदारी गर्दै नेपालको जितको आधार तयार पारेका थिए ।

इशान पाण्डेले ६१ बलमा ५५ रन बनाए । उनले ५ चौका र २ छक्का प्रहार गरे ।

यसअघि ओपनर कुशल भुर्तेल र आसिफ शेखले पहिलो विकेटका लागि ५८ रनको साझेदारी गरेका थिए । कुशल २८ तथा आसिफ २९ रनमा आउट भए । त्यसपछि रोहित र इशानले नेपालको इनिङ्स सम्हालेका थिए ।

उपकप्तान दीपेन्द्रसिंह ऐरी २ रनमा आउट भए भने आरिफ शेख ८ रनमा अविजित रहे । स्कटल्यान्डका मार्क वाटले २ तथा ब्रेन्डन म्याकमुलेनले १ विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ गरेको स्कटल्यान्ड ३९ ओभर १ बलमा १९४ रनमै अलआउट भएको थियो । स्कटल्यान्डका लागि ब्रेन्डन म्याकमुलेनले सर्वाधिक ७३ रन बनाए । उनले ४४ बलमा ६ छक्का र ६ चौका प्रहार गरे ।

माइकल इंग्लिसले ७२ बलमा ५१ रनको योगदान दिए । जर्ज मुन्से २१, कप्तान रिची बेरिङ्टन १२ तथा मार्क वाट २० रनमा आउट भए । अन्य ब्याटरले ठूलो योगदान दिन सकेनन् ।

नेपालका लागि स्पिनर ललित राजवंशी घातक बने । उनले ८ ओभरमा ३२ रन खर्चेर ४ विकेट लिए । लामो समय विकेटविहीन रहेका ललितले महत्वपूर्ण पुनरागमन गरेका हुन् ।

सन्दीप लामिछानेले १० ओभरमा ४७ रन खर्चेर ३ विकेट लिए । यस क्रममा उनले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा छिटो १५० विकेट लिने विश्व कीर्तिमानसमेत कायम गरे ।

सन्दीपले ७३ खेलमै १५० विकेट पूरा गर्दै अष्ट्रेलियाका मिचेल स्टार्कको कीर्तिमान तोडे । स्टार्कले ७७ खेलमा उक्त उपलब्धि हासिल गरेका थिए ।

नेपालका नन्दन यादव, सोमपाल कामी र दीपेन्द्रसिंह ऐरीले समान १–१ विकेट लिए ।

यो जितसँगै नेपाल २७ खेलबाट २२ अंक जोड्दै पाँचौँ स्थानमा पुगेको छ । समान २२ अंक भए पनि नामिबिया रनरेटमा पछि पर्दै छैटौँ स्थानमा झरेको छ । क्यानडा सातौँ तथा यूएई पुछारमा रहेको छ ।

पराजयपछि पनि स्कटल्यान्ड ३१ खेलबाट ३८ अंकसहित शीर्ष स्थानमै कायम छ । अमेरिका दोस्रो, ओमान तेस्रो र नेदरल्यान्ड्स चौथो स्थानमा रहेका छन् ।

अब नेपालले शृंखलाको अन्तिम खेल शुक्रबार अमेरिकाविरुद्ध खेल्नेछ ।