काठमाडौं । नेपाल स्टक एक्सचेञ्जमा सोमबार भएको कारोबार रकम दुई वर्षयताकै न्यून स्तरमा पुगेको छ ।
आज कुल २ अर्ब ४५ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । पूर्ण समय कारोबार हुँदा यो रकम २०८१ वैशाख २४ यताकै न्यून भएको बताइएको छ ।
यसअघि फागुन २५ गते ५५ करोड रुपैयाँ मात्रै कारोबार भएको थियो । तर त्यसदिन सर्किट ब्रेकर लागेका कारण छोटो समय मात्रै कारोबार भएको थियो ।
अघिल्लो कारोबार दिन ३ अर्ब ९ करोड रुपैयाँको कारोबार भएको थियो ।
आज नेप्से परिसूचक १ दशमलव ०३ अंकले घटेर २ हजार ७३० बिन्दुमा कायम भएको छ ।
कारोबारमा ११९ कम्पनीको शेयर मूल्य बढ्दा १३२ कम्पनीको घटेको छ भने १८ कम्पनीको मूल्य स्थिर रहेको छ ।
बैंकिङ, विकास बैंक, जलविद्युत्, लगानी तथा अन्य समूहमा सामान्य वृद्धि देखिएको छ ।
यता फाइनान्स, होटल तथा पर्यटन, जीवन बीमा, उत्पादन तथा प्रशोधन, माइक्रोफाइनान्स, निर्जीवन बीमा तथा व्यापार समूहमा गिरावट आएको छ ।
इङवा हाइड्रोपावरको शेयर मूल्य सबैभन्दा धेरै ८ दशमलव ४२ प्रतिशतले बढेको छ । बुंगल हाइड्रोपावर र सगरमाथा जलविद्युत् कम्पनीको मूल्य पनि बढेको छ ।
एसवाई प्यानलको शेयर मूल्य सबैभन्दा धेरै ३ दशमलव ६० प्रतिशतले घटेको छ ।
आज सबैभन्दा धेरै कारोबार हुने कम्पनीमा साहस ऊर्जा, रिलायन्स स्पिनिङ मिल्स, एसवाई प्यानल, अपि पावर र शिवम् सिमेन्ट रहेका छन् ।