भारतको बिहारबाट ६ नेपाली बालबालिकाको उद्धार

३ हप्ता अगाडि
भारतको बिहारबाट ६ नेपाली बालबालिकाको उद्धार

काठमाडौं । भारतको बिहार राज्यमा विभिन्न प्रलोभनमा परेर जोखिमपूर्ण अवस्थामा पुगेका ६ जना नेपाली बालबालिकाको उद्धार गरिएको छ ।

नयाँ दिल्लीस्थित नेपाली दूतावास र सामाजिक संस्था ‘किन इन्डिया’ को पहलमा उनीहरूको उद्धार गरिएको हो । उद्धारपछि उनीहरूलाई सुरक्षित रूपमा नेपाल फर्काउने प्रक्रिया अघि बढाइएको छ ।

किन इन्डियाका कार्यकारी निर्देशक नवीन जोशीका अनुसार आवश्यक कानुनी प्रक्रिया पूरा भएपछि बालबालिकालाई नेपाल ल्याइनेछ । उद्धार गरिएका बालबालिकामध्ये चार जना कोशी प्रदेशका रहेका छन् ।

उनीहरूलाई नेपाल ल्याएपछि आवश्यक परामर्श, मनोसामाजिक सहयोग र संरक्षण व्यवस्थापन गरिने तयारी गरिएको छ । त्यसपछि सम्बन्धित जिल्लामा परिवारको जिम्मा लगाइने बताइएको छ ।

बालबालिका भारत कसरी पुगे भन्ने विषयमा अनुसन्धान भइरहेको छ । प्रारम्भिक जानकारीअनुसार उनीहरू फरक–फरक प्रलोभनमा परेर भारत पुगेका थिए । विस्तृत विवरण भने परामर्श र अनुसन्धानपछि सार्वजनिक गरिने जनाइएको छ ।