काठमाडौं । नेपालमा अहिले पश्चिमी वायु र स्थानीय वायुको प्रभाव कायम रहेकाले देशका विभिन्न भूभागमा वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार हाल कोशी प्रदेशसहित बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भूभागमा सामान्य बदली रहेको छ । बागमती र गण्डकी प्रदेशका तराई क्षेत्र तथा अन्य पहाडी भूभागमा आंशिक बदली देखिएको छ भने बाँकी तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहेको छ ।
कोशी र बागमती प्रदेशका केही पहाडी क्षेत्रमा हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ ।
आज दिउँसो कोशी प्रदेशसहित देशका अधिकांश हिमाली तथा पहाडी भूभागमा सामान्य बदली रहनेछ । मधेस प्रदेश तथा बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रमा आंशिक बदली रहने अनुमान गरिएको छ भने अन्य तराई क्षेत्रमा मौसम सफा रहनेछ ।
महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा मध्यम वर्षा तथा हिमपात हुन सक्ने सम्भावना छ । साथै अन्य हिमाली तथा पहाडी क्षेत्रका थोरै स्थान र मधेससहित कोशी, बागमती तथा गण्डकीका तराई क्षेत्रका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा हुन सक्ने अनुमान गरिएको छ ।
सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा भने तापक्रम बढ्ने र तातो दिन हुने सम्भावना रहेको महाशाखाले जनाएको छ ।
आज राति कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा सामान्य बदली रहनेछ भने मधेससहित अन्य पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली रहनेछ । बाँकी तराई भूभागमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान गरिएको छ ।
रातिको समयमा पनि कोशी र गण्डकी प्रदेशका केही स्थान तथा मधेस, बागमती र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।