चेन्नईलाई हराउँदै हैदराबाद प्लेअफमा

३ हप्ता अगाडि
चेन्नईलाई हराउँदै हैदराबाद प्लेअफमा

चेन्नई । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति भएको खेलमा सनराइजर्स हैदराबादले चेन्नई सुपर किङ्सलाई ५ विकेटले पराजित गर्दै प्लेअफमा स्थान सुरक्षित गरेको छ ।

घरेलु मैदानमा पहिले ब्याटिङ गरेको चेन्नईले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ८० रन बनाएको थियो । चेन्नईका लागि डेवाल्ड ब्रेभिसले सर्वाधिक ४४ रन बनाए । सञ्जु सामसनले २७ तथा शिवम दुबेले २६ रनको योगदान दिए । चेन्नईलाई मध्यम योगफलमा रोक्न हैदराबादका कप्तान प्याट कमिन्सले ३ विकेट लिए भने सकिब हुसेनले २ विकेट हात पारे ।

१ सय ८१ रनको लक्ष्य पछ्याएको हैदराबादले १९ ओभरमा ५ विकेट गुमाएर जित हात पार्यो । टोलीको जितमा इशान किशनले उत्कृष्ट ७० रन बनाए । हेनरिक क्लासेनले ४७ तथा अभिषेक शर्माले २६ रन जोडे । चेन्नईका मुकेश चौधरीले २ विकेट लिए पनि टोलीलाई हारबाट जोगाउन सकेनन् ।

यस जितसँगै सनराइजर्स हैदराबाद प्लेअफमा पुगेको छ । हैदराबादसँगै गुजरात टाइटन्सले पनि प्लेअफमा स्थान सुरक्षित गरेको छ । यसअघि रोयल च्यालेन्जर्स बेङ्गलोर प्लेअफमा पुगिसकेको थियो । अब प्लेअफको एक स्थानका लागि मात्रै प्रतिस्पर्धा बाँकी रहेको छ ।