नेयमार ब्राजिलको विश्वकप टोलीमा, चौथो विश्वकप खेल्ने

३ हप्ता अगाडि
नेयमार ब्राजिलको विश्वकप टोलीमा, चौथो विश्वकप खेल्ने

काठमाडौँ । स्टार फरवार्ड नेयमार ब्राजिलको २६ सदस्यीय विश्वकप टोलीमा समावेश भएका छन् । ब्राजिलका मुख्य प्रशिक्षक कार्लो एन्सेलोटीले आगामी विश्वकपका लागि टोली घोषणा गर्दै नेयमारलाई टोलीमा राखेका हुन् ।

हाल ब्राजिलियन क्लब सान्तोसबाट खेलिरहेका ३४ वर्षीय नेयमार ब्राजिलका सर्वाधिक गोलकर्ता हुन् । उनले राष्ट्रिय टोलीबाट १ सय २८ खेल खेल्दै ७९ गोल गरेका छन् ।

चोटका कारण सन् २०२३ यता ब्राजिल टोलीबाट बाहिर रहेका नेयमार यस पटक टोलीमा परेसँगै आफ्नो चौथो विश्वकप खेल्ने भएका छन् । उनले यसअघि २०१४, २०१८ र २०२२ को विश्वकपमा ब्राजिलको प्रतिनिधित्व गरेका थिए ।

रियो दि जेनेरियोमा आयोजित कार्यक्रममा प्रशिक्षक एन्सेलोटीले टोली घोषणा गरेका थिए । नेयमारको नाम सार्वजनिक हुँदा उपस्थित समर्थकहरूले ठूलो ताली बजाउँदै स्वागत गरेका थिए ।

प्रशिक्षक एन्सेलोटीले नेयमारको पछिल्लो प्रदर्शन र फिटनेस सन्तोषजनक रहेको बताएका छन् । “हामीले पूरै वर्ष नेयमारको अवस्था विश्लेषण गर्‍यौं । पछिल्लो समय उनी नियमित खेलिरहेका छन् र शारीरिक रूपमा पनि राम्रो अवस्थामा छन्,” उनले भने ।

टोलीमा गोलरक्षक एलिसन बेकर पनि समावेश भएका छन् । चोटका कारण उनले लिभरपुलका पछिल्ला १० खेल गुमाएका थिए ।

यसैगरी कासेमिरो, माथेउस कुन्हा, ब्रुनो गिमारेस, गाब्रिएल मागाल्हाएस, इगोर थियागो र रायन पनि टोलीमा अटाएका छन् ।

तर यस सिजन उत्कृष्ट प्रदर्शन गरेका जोआओ पेड्रो भने टोलीमा पर्न सकेनन् । उनले चेल्सीका लागि प्रिमियर लिगमा १५ गोल र पाँच असिस्ट गरेका थिए ।

ब्राजिल टोलीमा भिनिसियस जुनियर, राफिन्हा र एन्ड्रिकजस्ता खेलाडी पनि समावेश छन् ।

पाँच पटकको विश्व विजेता ब्राजिलले समूह ‘सी’ अन्तर्गत जुन १३ मा मोरक्कोसँग, जुन २० मा हाइटीसँग र त्यसको चार दिनपछि स्कटल्याण्डसँग खेल्नेछ ।

संयुक्त राज्य अमेरिका, क्यानडा र मेक्सिकोमा आयोजना हुने ४८ टोली सहभागी विस्तारित विश्वकप जुन ११ बाट सुरु हुनेछ ।