पोखरा । पोखरा महानगरपालिकाले न्युरोड क्षेत्रका फुटपाथमा हुने अनधिकृत पार्किङ हटाउने अभियानलाई तीव्र बनाएको छ ।
महानगरका अनुसार फुटपाथ पैदलयात्रीका लागि निर्माण गरिएको क्षेत्र भएकाले त्यहाँ सवारी पार्किङ गर्दा आवागमनमा समस्या र दुर्घटनाको जोखिम बढेको छ ।
तीन दिनसम्म सार्वजनिक सूचना र माइकिङमार्फत सचेतना गराएपछि अहिले कारबाही प्रक्रिया सुरु गरिएको जनाइएको छ ।
तोकिएको स्थानबाहेक अन्यत्र पार्किङ गर्न नपाइने स्पष्ट पार्दै महानगरले नियम उल्लंघन गर्ने सवारी नियन्त्रणमा लिएर ट्राफिक प्रहरीमार्फत कारबाही गरिने जनाएको छ ।
महानगरले सडक व्यवस्थापन, पैदलयात्रु सुरक्षा तथा सहरी सौन्दर्य कायम गर्न अभियानलाई निरन्तरता दिने बताएको छ ।