काठमाडौं । पश्चिम एसियामा बढ्दो तनावको असर नेपालका निर्माण क्षेत्रमा समेत देखिएको छ ।
पेट्रोलियम पदार्थको मूल्यवृद्धिसँगै निर्माण सामग्रीको भाउ १०७ प्रतिशतसम्म बढेको निर्माण व्यवसायीहरूले बताएका छन् । नेपाल निर्माण व्यवसायी महासंघका अनुसार बिटुमिनको मूल्य प्रतिलिटर १८५ रुपैयाँ पुगेको छ ।
डिजेल, डन्डी, सिमेन्टलगायत सामग्रीको मूल्य पनि उल्लेख्य रूपमा बढेपछि देशभर सञ्चालनमा रहेका करिब ३० हजार आयोजना प्रभावित भएको व्यवसायीहरूको दाबी छ ।
निर्माण लागत आकस्मिक रूपमा बढेपछि ठेक्का व्यवस्थापनमा समस्या आएको तथा धेरै आयोजना सुस्त बन्न थालेको महासंघले जनाएको छ ।
व्यवसायीहरूले मूल्य समायोजन, बजेट पुनरावलोकन तथा निर्माण क्षेत्रलाई राहत दिने नीति ल्याउन सरकारसँग माग गरेका छन् ।