काठमाडौं । दक्षिण बंगालको खाडीमा मनसुन प्रणाली विस्तार भएसँगै नेपालमा यस वर्ष मनसुन सरदरभन्दा छिटो भित्रिन सक्ने सम्भावना देखिएको छ। मौसमविद विनोद पोखरेलका अनुसार हालको गतिमा प्रणाली विस्तार भइरहे नेपालमा दुई साताभित्र मनसुन प्रवेश गर्न सक्छ।
नेपालमा सामान्यतया जेठ मसान्त अर्थात् जुन १३ तिर मनसुन भित्रिने गरेको छ। तर यस वर्ष प्रिमनसुन अवधिमै सरदरभन्दा बढी वर्षा भइसकेको मौसम विभागले जनाएको छ। हालसम्म २४९.३० मिलिमिटर वर्षा भइसकेको छ, जुन औसतभन्दा १०८ प्रतिशत बढी हो।
हाल देशमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेको छ। यसको असरले गोरखा, लमजुङ, कास्की, स्याङ्जा, पर्वत लगायतका जिल्लामा मध्यम वर्षा भइरहेको छ। लमजुङको कुञ्चामा पछिल्लो २४ घण्टामा १०८ मिलिमिटरभन्दा बढी वर्षा मापन गरिएको छ।
उता पश्चिम नेपालका तराई क्षेत्रमा अत्यधिक गर्मी कायम छ। मौसम विभागका अनुसार धनगढी, नेपालगञ्ज, भैरहवा लगायतका क्षेत्रमा तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुग्ने सम्भावना रहेको छ।