जोरा स्पोर्ट्सले क्यानविरुद्धका सबै मुद्दा फिर्ता लियो

३ हप्ता अगाडि
जोरा स्पोर्ट्सले क्यानविरुद्धका सबै मुद्दा फिर्ता लियो

काठमाडौं । जोरा स्पोर्ट्स म्यानेजमेन्टले नेपाल क्रिकेट संघ (क्यान) विरुद्ध विभिन्न अदालतमा दायर गरेका सम्पूर्ण मुद्दा फिर्ता लिएको घोषणा गरेको छ। कम्पनीका प्रबन्ध निर्देशक आमिर अख्तरले सोमबार विज्ञप्ति जारी गर्दै सर्वोच्च अदालत, काठमाडौं जिल्ला अदालत र उच्च अदालत पाटनमा दायर सबै मुद्दा तत्काल फिर्ता लिन तयार रहेको बताएका हुन्।

जोरा स्पोर्ट्सले नेपाल प्रिमियर लिग (एनपीएल) को आधिकारिकता, स्वामित्व र बौद्धिक सम्पत्तिसम्बन्धी विषयलाई लिएर अदालतमा मुद्दा दायर गरेको थियो। अख्तरले आफूले व्यक्तिगत द्वेषका कारण नभई नेपाली खेलकुद क्षेत्रको सुधार र पारदर्शिताका लागि कानुनी बाटो रोजेको बताएका छन्।

उनले राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले खेल क्षेत्रको विकासका लागि सबै पक्षलाई एकजुट हुन आग्रह गरेपछि त्यसलाई सम्मान गर्दै मुद्दा फिर्ता लिने निर्णय गरिएको स्पष्ट पारे। यद्यपि ‘नेपाल प्रिमियर लिग प्राइभेट लिमिटेड’ नामक कम्पनी र त्यसको बैंक खातामाथिको आफ्नो स्वामित्व भने यथावत रहने उनले जनाएका छन्।

अख्तरले आगामी दिनमा पनि क्रिकेटसहित समग्र खेलकुद क्षेत्रको विकासका लागि सम्बन्धित निकायसँग सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।