काठमाडौं । हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव कायम रहेकाले पहाडी तथा हिमाली क्षेत्रमा बदली भएको छ भने अधिकांश तराई क्षेत्रमा मौसम खुला रहेको छ। जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले यस्तो जानकारी दिएको हो।
महाशाखाका अनुसार आज दिउँसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका विभिन्न स्थानमा सामान्यदेखि आंशिक बदली रहनेछ। लुम्बिनी र कर्णाली प्रदेशका हिमाली तथा पहाडी भूभागमा पनि बादल लाग्ने सम्भावना रहेको छ। तराईका अधिकांश क्षेत्रमा भने मौसम मुख्यतया सफा रहने पूर्वानुमान गरिएको छ।
कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। साथै मधेससहित अन्य पहाडी तथा हिमाली क्षेत्रमा हल्का वर्षा हुन सक्ने तथा उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको बताइएको छ।
यता लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई जिल्लामा तातो दिनको अवस्था रहने सम्भावना रहेको मौसमविद्ले जनाएका छन्।
आज राति पनि कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा सामान्य बदली कायम रहनेछ। ती प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुन सक्ने अनुमान गरिएको छ। बाँकी पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली रहनेछ भने तराईका अधिकांश क्षेत्रमा मौसम सफा रहने महाशाखाले जनाएको छ।