इरानमा तनाव चुलिँदै, प्रदर्शन र सुरक्षाबलबीच झडप जारी

३ महिना अगाडि
इरानमा तनाव चुलिँदै, प्रदर्शन र सुरक्षाबलबीच झडप जारी

काठमाडौं । इरानमा पछिल्ला दिनदेखि जारी राजनीतिक तथा सामाजिक तनाव अझै कम हुन सकेको छैन । राजधानी तेहरानसहित देशका विभिन्न सहरमा सरकारविरोधी प्रदर्शन जारी रहेका छन् । आर्थिक संकट, महँगी, बेरोजगारी र सरकारी नीतिप्रति असन्तुष्टि जनाउँदै सुरु भएका प्रदर्शन अहिले व्यापक राजनीतिक आक्रोशमा परिणत भएका छन् ।

प्रदर्शन नियन्त्रणका लागि इरानी सुरक्षाफौजले कडा कदम चालेको जनाएको छ । विभिन्न स्थानमा प्रदर्शनकारी र सुरक्षाकर्मी बीच झडप हुँदा ठूलो संख्यामा मानिस हताहत भएको आशंका गरिएको छ । मानवअधिकार संस्थाहरूले सयौँको संख्यामा नागरिकको ज्यान गएको दाबी गरेका छन् भने हजारौँलाई नियन्त्रणमा लिइएको बताइएको छ । यद्यपि, इरानी सरकारले मृतकको संख्या र अवस्थाबारे आधिकारिक विवरण सार्वजनिक गरेको छैन ।

तनाव बढ्दै गएपछि सरकारले देशभर इन्टरनेट तथा सञ्चार सेवामा कडाइ गरेको छ । यसका कारण इरानभित्रको वास्तविक अवस्था बाहिर आउन कठिन भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।  प्रदर्शन हिंसात्मक बन्दै गएपछि राष्ट्रिय सुरक्षा कायम राख्न कडा कदम चाल्नुपरेको सरकारी पक्षले दाबी गरेको छ ।

यसैबीच, इरानी नेतृत्वले प्रदर्शनलाई विदेशी शक्तिबाट उक्साइएको आरोप लगाउँदै आएको छ । अमेरिकी तथा केही पश्चिमी मुलुकहरूले भने इरानमा भइरहेको घटनाप्रति चासो व्यक्त गर्दै मानवअधिकारको सम्मान गर्न आग्रह गरेका छन् । यसले इरान र पश्चिमी देशहरूबीचको कूटनीतिक तनावलाई थप चर्काएको छ ।

विश्लेषकहरूका अनुसार लामो समयदेखि जारी आर्थिक दबाब, अन्तर्राष्ट्रिय प्रतिबन्ध र आन्तरिक राजनीतिक असन्तुष्टिका कारण इरानमा जनआक्रोश बढ्दै गएको हो । तत्काल समाधान नखोजिएमा अवस्था अझ जटिल बन्न सक्ने उनीहरूको अनुमान छ ।