सिटी रोकिँदा आर्सनल २१ वर्षपछि इंग्लिस लिग च्याम्पियन

२ हप्ता अगाडि
सिटी रोकिँदा आर्सनल २१ वर्षपछि इंग्लिस लिग च्याम्पियन

काठमाडौं । आर्सनल २१ वर्षपछि इंग्ल्यान्डको शीर्ष फुटबल लिगको च्याम्पियन बनेको छ । म्यानचेस्टर सिटी बर्नमाउथसँग १–१ को बराबरीमा रोकिएपछि आर्सनलले उपाधि जित सुनिश्चित गरेको हो ।

आर्सनलले यसअघि सन् २००४/०५ को सिजनमा लिग उपाधि जितेको थियो । योसँगै क्लबले १४औँ पटक लिग उपाधि हात पारेको छ ।

उपाधि दौड कायम राख्न सिटीलाई उक्त खेलमा जित आवश्यक थियो । तर बर्नमाउथले लगातार १७औँ खेलमा अपराजित यात्रा कायम राख्दै सिटीलाई रोक्न सफल भयो । यससँगै बर्नमाउथले पहिलोपटक युरोपा लिगमा स्थान सुरक्षित गरेको छ ।
लगातार तीन सिजन उपविजेतामा सीमित बनेको प्रशिक्षक मिकेल आर्टेटाको टोली आर्सनलले यसपटक भने लामो प्रतीक्षाको अन्त्य गर्दै उपाधि जित्न सफल भएको हो । टोलीले पछिल्लो पटक सन् २०२० मा एफए कप जितेको थियो ।

मंगलबार राति भएको खेलमा भिटालिटी रंगशालामा एली जुनियर क्रुपीले ३८औँ मिनेटमा गोल गर्दै बर्नमाउथलाई अग्रता दिलाएका थिए । खेलको अतिरिक्त समयमा एर्लिङ हालान्डले सिटीका लागि बराबरी गोल फर्काए पनि त्यो जितका लागि पर्याप्त बन्न सकेन ।