हुम्लामा आकस्मिक बाढी–पहिरो : विद्यालय भवनदेखि गोठसम्ममा क्षति

२ हप्ता अगाडि
हुम्लामा आकस्मिक बाढी–पहिरो : विद्यालय भवनदेखि गोठसम्ममा क्षति

हुम्लाको चङ्खेली गाउँपालिका-५ नेप्का गाउँमा गएराति परेको अविरल असिनापानीपछि आएको बाढी-पहिरोले विद्यालय भवनसहित विभिन्न संरचनामा क्षति पुगेको छ।

स्थानीयका अनुसार एक्कासि ठूलो वर्षासँगै खसेको पहिरोले डाँफेस्थित आधारभूत विद्यालय भवन बगाएको छ भने खेतीयोग्य जमिन र केही गोठसमेत पुरिएका छन्।

वडाध्यक्ष हर्कधन तामाङ र स्थानीय धनसिंह तामाङका गोठमा पनि पहिरोले क्षति पुर्‍याएको बताइएको छ। गोठमा रहेका भेँडाबाख्राको अवस्थाबारे यकिन विवरण आउन बाँकी रहेको जनाइएको छ।

जिल्ला प्रहरी कार्यालय हुम्लाले घटनास्थलतर्फ प्रहरी टोली पठाइसकेको जनाएको छ। प्रारम्भिक विवरणअनुसार मानवीय क्षतिको सूचना प्राप्त नभए पनि भौतिक क्षति उल्लेख्य रहेको बताइएको छ।

चङ्खेली गाउँपालिकाको नेप्का गाउँ सदरमुकाम सिमकोटबाट टाढा पर्ने दुर्गम बस्तीमध्ये एक हो। गाउँपालिका केन्द्र पिप्लाङबाट त्यहाँ पुग्न करिब पाँच घण्टा पैदल हिँड्नुपर्ने स्थानीयले बताएका छन्।