भारतीय अवरोध हटेपछि नेपाली चिया निर्यात सहज हुने

२ हप्ता अगाडि
भारतीय अवरोध हटेपछि नेपाली चिया निर्यात सहज हुने

काठमाडौं । नेपाली चिया निर्यातमा भारतले लगाएको अवरोध तत्कालका लागि हटेको छ ।

भारतको टी बोर्डले मे १ देखि लागू गरेको आयातित चियाको अनिवार्य परीक्षणसम्बन्धी कार्यविधिमा संशोधन गरेपछि नेपालबाट भारततर्फ चिया निर्यात सहज हुने भएको हो ।

भारतीय टी बोर्डले मंगलबार जारी गरेको सूचनाअनुसार भारतमा घरेलु बिक्रीका लागि ल्याइने चियालाई अनिवार्य परीक्षणबाट अस्थायी रूपमा छुट दिइएको छ । भारतीय वाणिज्य मन्त्रालयको निर्देशनपछि यस्तो व्यवस्था गरिएको जनाइएको छ ।

नेपाल चिया उत्पादक संघका वरिष्ठ उपाध्यक्ष शिवकुमार गुप्ताले नयाँ व्यवस्थासँगै नेपालबाट पहिलेझैँ चिया निर्यात सुरु हुने बताए ।

यसअघि भारतले प्रत्येक चिया खेपको अनिवार्य प्रयोगशाला परीक्षण, उच्च शुल्क तथा लामो प्रक्रियाको व्यवस्था गरेपछि नेपाली चिया निर्यात ठप्पजस्तै बनेको थियो । उद्योगी, किसान र निर्यातकर्ता सबै प्रभावित भएका थिए ।

नयाँ संशोधनअनुसार पुनः निर्यातका लागि भारत भित्रिने चियामा भने परीक्षण अनिवार्य रहनेछ । घरेलु बिक्रीका लागि ल्याइने चियामा अनिवार्य परीक्षण नहुने भए पनि नमूनाका आधारमा परीक्षण गर्न सकिने जनाइएको छ ।

उद्योगीहरूका अनुसार नेपालबाट भारत जाने अधिकांश चिया घरेलु बिक्रीकै लागि हुने भएकाले नयाँ व्यवस्थाले सीमामा हुने ढिलासुस्ती घट्ने, लागत कम हुने र व्यापार सहज बन्ने अपेक्षा गरिएको छ ।

नेपालमा हाल १२० भन्दा बढी चिया उद्योग सञ्चालनमा छन् भने यस क्षेत्रमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा ५० देखि ६० हजार मानिस आबद्ध छन् । गत वर्ष नेपालबाट ४ अर्ब ७५ करोड रुपैयाँ बराबरको चिया निर्यात भएको थियो ।