काठमाडौं । मलेसिया भ्रमणमा रहेको नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले टी-२० अन्तर्राष्ट्रिय शृंखलामा सुखद सुरुवात गरेको छ। बुधबार भएको पहिलो खेलमा नेपालले घरेलु टोली मलेसियालाई दुई विकेटले हराएको हो।
क्वालालाम्पुरस्थित वायोमास ओभलमा मलेसियाले दिएको ६८ रनको सामान्य लक्ष्य नेपालले १७.३ ओभरमा आठ विकेट गुमाउँदै पूरा गर्यो।
नेपालको जितमा ओपनर सम्झना खड्काले सर्वाधिक ३२ रन जोडिन् भने रुवि पोद्दारले १५ रनको योगदान दिइन्। अन्तिमतिर कविता जोशी ६ तथा रिया शर्मा ४ रनमा अविजित रहँदै टोलीलाई जितसम्म पुर्याए।
सीता रानामगरले ५ र कविता कुँवरले ३ रन बनाउँदा कप्तान इन्दु बर्मा तथा रुविना क्षेत्री समान १ रनमा आउट भए। विन्दु रावल र पूजा महतो भने खाता नै खोल्न सकेनन्।
मलेसियाका लागि नुर क्वायसाले तीन विकेट लिइन् भने एल्सा हन्टर र आस्या लिसाले समान दुई–दुई विकेट हात पारे।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मलेसिया १६.५ ओभरमै ६७ रनमा समेटिएको थियो। नेपालका बलरहरूले सुरुदेखि नै दबाब बनाएका थिए।
पूजा महतोले उत्कृष्ट बलिङ गर्दै १३ रन खर्चेर तीन विकेट लिइन्। मनिषा उपाध्यायले दुई विकेट हात पारिन् भने रिया शर्मा पनि दुई विकेट लिन सफल भइन्। कविता कुँवर र सीता रानामगरले समान एक–एक विकेट लिए।
मलेसियाका लागि इल्सा हन्टरले सर्वाधिक १० रन बनाइन्। अन्य कुनै ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।
नेपाल र मलेसियाबीचको दोस्रो खेल शुक्रबार हुने तय भएको छ।