काठमाडौं । लगातार ओरालो लागेको सेयरबजारमा बुधबार सुधार देखिएको छ ।
नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ३० दशमलव ०८ अंकले बढेर २ हजार ७ सय ५४ दशमलव ४८ विन्दुमा पुगेको छ । यो वृद्धि १ दशमलव १० प्रतिशत बराबर हो ।
आज कुल ३ अर्ब ८२ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ । कारोबार भएका कम्पनीमध्ये २४८ वटाको सेयर मूल्य बढ्दा २१ वटाको घटेको छ भने एउटा कम्पनीको मूल्य स्थिर रहेको छ ।
अपर लोहोरे खोला जलविद्युत कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने माउन्टेन हाइड्रोको सेयर ११ दशमलव ८८ प्रतिशतले बढेको छ । अन्य कम्पनीको सेयर मूल्य पनि ७ दशमलव ५१ प्रतिशतसम्म बढेको देखिएको छ ।
यता कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर मूल्य सबैभन्दा धेरै १३ दशमलव २६ प्रतिशतले घटेको छ । बैंकको प्रतिकित्ता मूल्य घटेर ३०५ रुपैयाँमा झरेको छ ।
कारोबार रकमका आधारमा पनि कर्पोरेट डेभलपमेन्ट बैंक नै अगाडि रहेको छ । उक्त बैंकको १८ करोड रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।
आज सबै उपसमूह हरियालीमा बन्द भएका छन् ।