काठमाडौं । बाँकेकी निर्मला कुर्मीको अपहरण, शरीर बन्धक तथा हत्या प्रकरणको निष्पक्ष अनुसन्धानको माग गर्दै २३ दिनदेखि अनशनरत अधिकारकर्मी रूबी खानले अनशन अन्त्य गरेकी छन् ।
सरकारसँग पाँच बुँदे सहमति भएपछि उनले अनशन तोडेकी हुन् । प्रधानमन्त्री वालेन्द्र शाहकी प्रेस तथा अनुसन्धान विज्ञ दिपा दाहालले उनलाई पानी खुवाएर अनशन अन्त्य गराएकी थिइन् ।
नेपालगञ्जस्थित सञ्जीवनी कलेज अफ मेडिकल साइन्सेजमा उपचाररत खानसँग वार्ताका लागि सरकारका तर्फबाट विशेष टोली खटिएको थियो । टोलीमा प्रहरी अतिरिक्त महानिरीक्षक सुशीलसिंह राठौर, गृह मन्त्रालयका सहसचिव आनन्द काफ्ले र दिपा दाहाल सहभागी थिए ।
सहमतिअनुसार निर्मला कुर्मीको अपहरण, शरीर बन्धक तथा कर्तव्य ज्यानसम्बन्धी मुद्दामा हालसम्म भएका अनुसन्धानको अध्ययन गरी यथाशीघ्र न्यायिक प्रक्रिया अघि बढाइनेछ ।
त्यस्तै, खानले उठाएका अन्य घटनाको अनुसन्धान लुम्बिनी प्रदेश प्रहरी कार्यालयबाट गराइने र कमजोरी देखिए सम्बन्धित प्रहरी कर्मचारीमाथि कारबाही गरिने सरकारको प्रतिबद्धता छ ।
खानविरुद्ध दर्ता भएको सार्वजनिक शान्तिविरुद्धको कसुरसम्बन्धी मुद्दाको अनुसन्धान पनि छिट्टै टुंग्याउने सहमति भएको छ ।
सहमतिपत्रमा मानवअधिकार तथा महिला अधिकार क्षेत्रमा क्रियाशील विभिन्न संघसंस्थाका प्रतिनिधिहरूले रोहवरमा हस्ताक्षर गरेका छन् ।