आईसीसी वरीयतामा सन्दीप र दीपेन्द्रको सुधार

२ हप्ता अगाडि
आईसीसी वरीयतामा सन्दीप र दीपेन्द्रको सुधार

काठमाडौं । आईसीसी विश्वकप लिग–२ मा उत्कृष्ट प्रदर्शन गरेका नेपाली खेलाडीहरूको एकदिवसीय अन्तर्राष्ट्रिय वरीयतामा सुधार भएको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले बुधबार सार्वजनिक गरेको नयाँ वरीयतामा सन्दीप लामिछाने ६ स्थान सुधार गर्दै बलिङतर्फ ३७औँ स्थानमा पुगेका छन् ।

त्यस्तै, ललित राजवंशी १६ स्थान सुधार गर्दै ५४औँ स्थानमा उक्लिएका छन् भने दीपेन्द्रसिंह ऐरी तीन स्थान सुधार गर्दै ७९औँ स्थानमा पुगेका छन् ।

अलराउन्डरतर्फ पनि दीपेन्द्रले तीन स्थान सुधार गर्दै २५औँ स्थान हासिल गरेका छन् । गुल्सन झाले १५ स्थान सुधार गर्दै ८७औँ स्थानमा आफूलाई उकालेका छन् ।

हाल नेपालमा भइरहेको विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक शृंखलामा यी खेलाडीले उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । नेपालले शृंखलाको अन्तिम खेल अमेरिकाविरुद्ध खेल्नेछ ।