काठमाडौं । देशका विभिन्न भूभागमा आज वर्षाको सम्भावना रहेको छ भने पश्चिम तराईका केही क्षेत्रमा अत्यधिक गर्मी हुने पूर्वानुमान गरिएको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभावसँगै पूर्वी भूभाग नजिक बनेको न्यूनचापीय क्षेत्रको असर रहेको छ ।
विभागले दिउँसो कोसी, वाग्मती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा सामान्य बदली रहने जनाएको छ । मधेस प्रदेशसहित वाग्मती र गण्डकीका तराई भूभाग तथा अन्य प्रदेशका पहाडी र हिमाली क्षेत्रमा आंशिक बदली रहनेछ भने अधिकांश तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ ।
कोसी, वाग्मती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा मध्यम वर्षा हुन सक्ने सम्भावना रहेको छ । त्यस्तै मधेस, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा पनि वर्षा तथा उच्च हिमाली क्षेत्रमा हिमपात हुन सक्ने विभागले जनाएको छ ।
यता सुदूरपश्चिम र लुम्बिनी प्रदेशका पहाडी तथा तराई क्षेत्रमा तातो दिन रहने सम्भावना छ । ती क्षेत्रका तराई जिल्लामा केही दिनयता अत्यधिक गर्मी भइरहेको छ ।
हिजो दिपायल, धनगढी र नेपालगञ्जको अधिकतम तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुगेको थियो ।
विभागका अनुसार रातिको समयमा पनि कोसी, वाग्मती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा सामान्य बदली रहनेछ । मधेस प्रदेशका केही स्थानसहित कोसी, वाग्मती र गण्डकी प्रदेशमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ । बाँकी अधिकांश तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहने जनाइएको छ ।